बारा । सशस्त्र प्रहरीले सोमबार बारा जिल्लाबाट करिब साढे २३ लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक सवारी साधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण, हे.क्वा. बाराबाट खटिएको मोबाइल गस्ती टोलीले बारा जिल्लाको कोल्हबी नगरपालिका–३ स्थित कोल्हबी–तामागढी सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा रु. १ लाख ५० हजार बराबरको १५० कार्टुन केरा र करिब रु. २२ लाख बराबरको बा.प्र.०३–००१ च ०९६२ नम्बरको टाटायोद्धा गाडी नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले जानकारी दिएका छन्। उनका अनुसार गाडीसहित सामान छाडेर चालक फरार भएको थियो ।


