लालबकैयामा खुला ब्रह्मलुट : टेण्डर छैन, उत्खनन भने दिनरात

साझेदारी डेलि
74 पाठक संख्या

रौतहट । प्रिमेश शिवाकोटी/ लालबकैया नदी यतिबेला अवैध दोहनको चपेटामा परेको छ । यो नदी अबैध रुपमा हुनेदोहनको मारमा सधैं पर्ने गरेको छ । स्थानीय सरकारभि समयमै टेण्डर नगर्दा स्थानीय केही खोला माफियाहरुले ब्रम्हलुट लुट गरेर फाईदा उठाउने मौका पाईरहेका छन ।

कानुनी रूपमा टेण्डर प्रक्रिया  नै पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा निकासी भईरहेको स्थानीय बताउँछन ।

सामान्य चोरीझैँ लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्करबीचको कथित “सेटिङ”मै खुलेआम नदी दोहन हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय समाजसेवीले बताए ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका जंगलसहिया, सिमरी, राँगी र बोटावा घाटमा बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीय बताउँछन ।

कानुनले टेण्डरबिनाको उत्खननलाई पूर्ण रूपमा निषेध गरे पनि व्यवहारमा भने नदी दोहन नियन्त्रणबाहिर गईरहेपछि स्थानीय बाढी र कटानको जोखिममा पर्ने चिन्तामा रहेको स्थानीय शम्भु चौधरीले बताए ।

केही बर्ष अघि टेण्डर प्रक्रिया नपु¥याई काम गर्न छुट दिएको आरोपमा  फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भईसकेका छन । त्यसयता टेण्डर प्रक्रिया अलपत्र परेको छ भने भनसुन र सेटिङमै नदि दोहन जारी रहेको छ ।

कार्यवाहक मेयर अम्बेया खातुनले हालसम्म नयाँ प्रक्रिया अघि बढाउन नसक्दा पालिकाले राजश्व गुमाउँदै आएको छ भने नदी दोहन गर्नेहरु मालामाल भईरहेका छन ।

उता गुजरा नगरपालिकामा पनि पछिल्ले दुई वर्षदेखि टेण्डर नखुलदा नदी कमाइखाने स्रोत बनेको स्थानीयको आरोप छ ।

स्थानीय स्रोतका अनुसार अवैध उत्खननमा संलग्न ट्र्याक्टर व्यवसायीले विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाउने गरेका छन ।

इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा मासिक प्रति ट्र्याक्टर चार हजार रुपैयाँसम्म बुझाइने तथा अन्य प्रहरी चौकी हरिनगर छेदी चौक, सशस्त्र प्रहरी अस्थायी पोस्ट पोखरभिन्डामा मासिक २ हजार छुट्टै रकम दिने गरिएको आरोप छ । रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै नदीजन्य पदार्थ बोकेका ट्र्याक्टर निर्वाध रूपमा ओहोरदोहोर गर्ने गरेको स्थानीय समाजसेवी मैनुदिन अन्सारीको दाबी छ ।

स्थानीयवासीका अनुसार केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्र्याक्टर प्रयोग गरेर उत्खननमा संलग्न रहेको तथा केहीले व्यापारीसँग आर्थिक लाभ लिएर मौन समर्थन गरिरहेको अवस्था छ । नदी संरक्षण र राजस्व व्यवस्थापन गर्ने निकाय नै विवादमा मुछिँदा अवैध कारोबारी थप हौसिएको स्थानीयको भनाइ छ ।

नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिमाथि समेत निष्क्रिय बनेको आरोप लागेको छ । स्थानीयका अनुसार नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित संरक्षणकै कारण लालबकैया नदी क्षेत्रबाट दैनिक सयौं ट्र्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ । विभिन्न स्थानमा ठूलो परिमाणमा गिटी, बालुवा र बोल्डरको अवैध भण्डारण समेत गरिएको पाईन्छ । 

Leave a review

This will close in 0 seconds