सिमरा । तेक्वान्दो खेलको प्रतिस्पर्धात्मक गुणस्तर र निर्णायकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिमरामा राष्ट्रियस्तरको रेफ्री रिफ्रेसर तथा सेमिनार सुरु भएको छ। नेपाल तेक्वान्दो संघको नेतृत्व तथा मधेस प्रदेश तेक्वान्दो संघको सहकार्यमा सञ्चालन भएको कार्यक्रम शुक्रबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको हो।
छ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका ६९ जना रेफ्री तथा निर्णायक सहभागी छन्। विश्व तेक्वान्दो महासंघले हालै संशोधन गरी लागू गरेका नयाँ खेल नियम तथा निर्णय प्रक्रियाबारे सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
सेमिनारको मुख्य केन्द्रबिन्दु क्योरुगी (प्रतिस्पर्धात्मक फाइट) र पुम्से (कलात्मक प्रस्तुति) विधासम्बन्धी अद्यावधिक नियम तथा खेल सञ्चालनका प्राविधिक पक्षहरू रहेका छन्। प्रशिक्षणमार्फत निर्णायकहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल मूल्याङ्कन र निर्णय दिन सक्षम बनाउने लक्ष्य राखिएको छ।
विश्व तेक्वान्दो महासंघको साधारणसभाबाट पारित नयाँ नियमावली जुन १ देखि विश्वभर लागू भइसकेको छ। सोही व्यवस्थाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएकाले नेपाल तेक्वान्दो संघले प्रदेशगत रूपमा रेफ्रीहरूलाई पुनर्ताजगी प्रशिक्षण प्रदान गरिरहेको जनाएको छ।
आयोजकका अनुसार नयाँ नियमको प्रभावकारी कार्यान्वयनले प्रतियोगितामा पारदर्शिता, निष्पक्षता र एकरूपता कायम गर्न सहयोग पुग्नेछ। सेमिनार सम्पन्न भएपछि सहभागी निर्णायकहरू आगामी प्रतियोगितामा संशोधित नियमअनुसार खेल सञ्चालन गर्न सक्षम हुने अपेक्षा गरिएको छ।


