जीतपुरमा क्षयरोगीहरूको सहभागितामा टीबी क्लब गठन

साझेदारी डेलि
56 पाठक संख्या

बारा । बाराको जीतपुरस्थित प्राथमिक स्वास्थ्य संस्थामा क्षयरोग (टीबी) विरुद्ध समुदायस्तरमा सचेतना विस्तार तथा उपचाररत बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले १५ सदस्यीय टीबी क्लब गठन गरिएको छ।

नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ग्लोबल फण्ड र युएनडीपीको सहयोग तथा बागमती सेवा समाज नेपालको सहकार्यमा आयोजित कार्यक्रममा उपचारपछि पूर्ण रूपमा निको भएका व्यक्तिहरूको सहभागितामा क्लब गठन गरिएको हो।

कार्यक्रममा परियोजनाका बारा जिल्ला फिल्ड संयोजक प्रदीप चौरसियाले उपचार पूरा गरिसकेका व्यक्तिहरूको अनुभव नयाँ बिरामीका लागि प्रेरणादायी हुने भएकाले क्लब स्थापना गरिएको बताए। उनका अनुसार क्लबले उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग, परामर्श, स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै समुदायमा क्षयरोगबारे सही सूचना प्रवाह गर्ने काम गर्नेछ।

कार्यक्रममा पूर्ण रूपमा निको भएका १५ जना पूर्व क्षयरोगी, जिल्ला क्षयरोग नियन्त्रण कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य संयोजक, शिक्षक, सञ्चारकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो।

छलफलका क्रममा टीबी क्लबको आवश्यकता, उपचार अनुभव आदान–प्रदान, औषधि नियमित सेवनको महत्त्व तथा बिरामीलाई आवश्यक मनोसामाजिक सहयोग कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागीहरूले विचार राखेका थिए।

परियोजनाका बारा जिल्ला संयोजक बिहारी प्रसाद कुशवाहाले समुदायमा क्षयरोगबारे फैलिएका भ्रम, विभेद र सामाजिक कलंक हटाउन क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले सोमिन्त्रा देवी सहनीको अध्यक्षतामा १५ सदस्यीय टीबी क्लब गठन गरेको छ। क्लबले हरेक महिना नियमित बैठक आयोजना गरी उपचाररत बिरामीलाई परामर्श, हौसला र आवश्यक सहयोग उपलब्ध गराउने, साथै समुदायमा क्षयरोगको समयमै पहिचान, उपचार र जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैबीच, क्लबका गतिविधिलाई प्रभावकारी बनाउन जीतपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी प्रवीण कुमार झाको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिले राष्ट्रिय क्षयरोग कार्यक्रम, बागमती सेवा समाज नेपाल तथा सम्बन्धित निकायसँग समन्वय गर्दै क्लबका गतिविधिको प्राविधिक सहयोग, मार्गदर्शन र अनुगमन गर्ने जनाइएको छ।

Leave a review

This will close in 0 seconds