औद्योगिक श्रमिकका मुद्दा उठाउने घोषणा गर्दै बारा–पर्सामा नयाँ नेतृत्व

रञ्जन यादव
204 पाठक संख्या

सिमरा । औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकका समस्या समाधान र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै अखिल नेपाल औद्योगिक मजदुर संघले बारा र पर्साका लागि नयाँ जिल्ला नेतृत्व चयन गरेको छ। शुक्रबार बाराको सिमरास्थित थानिमाई पार्क सभाहलमा सम्पन्न संयुक्त जिल्ला भेलाले दुवै जिल्लाका समिति पुनर्गठन गर्नुका साथै श्रमिकका हकहितका सवालमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको हो।

भेलाबाट बारा जिल्ला समितिको अध्यक्षमा डी.बी. थापा चयन भएका छन्। उपाध्यक्षमा देवेन्द्र सिटौला, सचिवमा दीपक कार्की, सहसचिवमा लक्ष्मी चौधरी र नुछेराज मण्डल, कोषाध्यक्षमा सोमिता श्रेष्ठ तथा सहकोषाध्यक्षमा लक्ष्मण सुवेदी चयन भएका छन्। उनीहरूसहित १७ सदस्यीय जिल्ला समिति गठन गरिएको संघले जनाएको छ।

यस्तै, पर्सा जिल्ला समितिको अध्यक्षमा विध्यानन्द कुशवाहा चयन भएका छन्। उपाध्यक्षमा सञ्जय साह, सचिवमा प्रदीप चौहान, सहसचिवमा अन्जद मियाँ तथा कोषाध्यक्षमा राजदेब दास चयन भएका छन्। पर्सामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जानकारी दिइएको छ।

भेलाले बारा र पर्साका औद्योगिक प्रतिष्ठानमा देखिएका श्रमिकसम्बन्धी विवाद र श्रम अधिकारका विषयलाई संस्थागत रूपमा उठाउने निर्णय गरेको छ। विशेषगरी नारायणी स्पात उद्योग, रारा चप्पल उद्योग तथा पर्सास्थित प्रोवायोटेक लगायतका उद्योगमा देखिएका श्रमिक समस्याको समाधानका लागि आवश्यक पहल गर्ने, सम्बन्धित निकायसँग संवाद अघि बढाउने र आवश्यकता अनुसार कानुनी प्रक्रिया तथा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष भेलाले निकालेको छ।

संगठनलाई उद्योग तहसम्म प्रभावकारी बनाउने, सदस्यता विस्तार गर्ने र नवगठित समितिका पदाधिकारीबीच जिम्मेवारी बाँडफाँट गरी श्रमिकका हक–अधिकार संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा समेत भेलाले निर्णय गरेको जनाइएको छ।

कार्यक्रममा अर्जुन चिमोरिया, बेनी तिमल्सिना, अक्षयकुमार ओझा, गजाधर पटेल, लालबहादुर पटेल, टुनटुन तिवारी, कृष्णप्रसाद पुडासैनी र रूपनारायण सिंहको उपस्थिति रहेको थियो।नवनिर्वाचित अध्यक्ष डी.बी. थापाको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन दीपक कार्कीले गरेका थिए भने स्वागत मन्तव्य धर्मेन्द्र ठाकुरले व्यक्त गरेका थिए। कार्यक्रममा श्रमिक एकता सुदृढ गर्दै औद्योगिक क्षेत्रमा देखिएका श्रम समस्याको समाधानका लागि संगठित प्रयास आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए।

Leave a review