जन आन्दोलन होईन,जल आन्दोलन !

साझेदारी दैनिक
530 पाठक संख्या

कलैया । मैं ने अपने खुश्क आँखों से लहू छलका दिया
इक समुन्दर कह रहा था – मुझ को पानी चाहिए !

आज विश्व पानी दिवस् ! राहत इन्दौरीको यो कथनको आशय छ – मेरा सुख्खा आँखाबाट रगत बगे,जब समुन्द्रले भन्यो – मलाई पानी चाहियो । अर्थात जल संकट यति गहिरिंदै छ कि समुन्द्रहरु पनि तिर्खाउन थालिसके ।

अन्य ग्रहका तुलनामा पृथ्वीमा पानीको उपलब्धताका कारणले नै यो बस्न योग्य भएको हो । यहाँ पनि जति सभ्यताहरुको विकास भए ती नदीको किनारमा नै भए । पानीको हाहाकार भएको ठाउँमा प्रायः मानिसको हृदय पनि शुष्क र रुखासुखा हुने गर्छ ।

संसारभर कूल ९७.५% पानी समुन्द्रको रहेको छ,जो नुनिलो भएकोले पिउन योग्य छैन । बाँकी २.५% पिउन योग्य मानिएको छ,जसको श्रोत मूल,खोला,नदी र हिमनदीहरु हुन् ।

मूल,खोला,नदी र हिमनदीहरुलाई संरक्षण गर्न नसकिएका कारण जल संकट बढ्दै गैरहेको छ । प्रतिवर्ष ३ मिटरका दरले जल सतह तल जाँदैछ ।

राजा राम शाहको १४औं थितिमा भनिएको छ – पँध्यारोमा वन पाल्नु । रुख नभएदेखि जहिले खोज्यो तहिले पानी रहँदैन, सुकी जान्छ । वन धेरै फाँडिया पैरो पनि जान्छ । ढेरै पहिरो गए उपधाहा चल्छ ।

उपधाहाले खेत पनि लैजान्छ । वन नभए गृहस्थीको कुनै काम पनि चल्दैन । तसर्थ पँध्यारोको वन जसले काट्ला त्यसलाई पनि ५ रुपैयाँ दण्ड गरिलिनु ।

उ बेलाका शासकहरुको थिति यस्तो थियो,अहिले व्यवस्था बचाउन वन जिम्मा लगाईदिने बेथिति छ । विगतमा सूर्यबहादुर थापाले जनमत संग्रह ताका पञ्चायती व्यवस्था जोगाउन वन सखाप पारेको कथन छ ।

अबको समय जन आन्दोलनको होईन,जल आन्दोलनको हो ।

लेखक : छविरमण भट्टराई
सहायक प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय बारा

Leave a review

This will close in 0 seconds