कलैया । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा स्थानीय सरकार सञ्चालन ऐनविपरीत कर्मचारी नियुक्ति गरी पारिश्रमिक शीर्षकमा करिब ६ लाख रुपैयाँ अनियमित खर्च भएको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले स्वीकृत दरबन्दीभन्दा बाहिर कर्मचारी नियुक्त गरी आर्थिक वर्ष २०१/०८२ मा रु. ८५ लाख ९९ हजार ४९० खर्च गरिएको उल्लेख गर्दै उक्त खर्चलाई नियमविपरीत ठहर गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ अनुसार स्थायी प्रकृतिको कामका लागि अस्थायी दरबन्दी सिर्जना गर्न पाइँदैन भने सीमित अवस्थाबाहेक करार सेवाबाट कर्मचारी नियुक्त गर्न पनि मिल्दैन। तर सिम्रौनगढ नगरपालिकाले नगरसभाबाट अस्थायी दरबन्दी स्वीकृत गराई विभिन्न पदमा करार कर्मचारी नियुक्त गरेको महालेखाको निष्कर्ष छ । प्रतिवेदनअनुसार नगर प्रमुख किशोरी साह कलवार र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र जयनारायण राय यादवको कार्यकालमा कानुनी व्यवस्थाविपरीत कर्मचारी नियुक्ति भएको उल्लेख गरिएको छ ।
नगरपालिकामा हाल १९० जना करार र ८ जना ज्यालादारी गरी कुल १९८ जना कर्मचारी कार्यरत छन्। उनीहरूलाई करार सेवा शुल्कतर्फ रु.५ करोड १९ लाख १ हजार ४०१, सरसफाइ सेवा शुल्कतर्फ रु.७ लाख ७१ हजार ४४८.७३ तथा अन्य सेवा शुल्कतर्फ रु.१ लाख खर्च गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाका अनुसार कम्प्युटर अपरेटर पदमा १ जनाको मात्र स्वीकृत दरबन्दी रहेकामा १८ जना नियुक्त गरिएको थियो। अतिरिक्त १७ जनालाई मासिक २१ हजार रुपैयाँका दरले वार्षिक रु. ४८ लाख ११ हजार पारिश्रमिक भुक्तानी गरिएको देखिएको छ ।
यस्तै, १ जना सुपरभाइजरलाई रु.३ लाख ३५ हजार,१ जना सूचना सहायकलाई रु. ४ लाख ६१ हजार ४९० र ८ जना सामाजिक परिचालकलाई रु. २९ लाख ९२ हजार भुक्तानी गरिएको छ। यी शीर्षकमा गरिएको कुल रु. ८५ लाख ९९ हजार ४९० खर्च नियमसंगत नभएको महालेखाले औँल्याएको छ । प्रतिवेदनले कानुनले अनुमति नदिएका पदमा समेत ३ जना इन्जिनियर,४ जना प्रशासन सहायक, २ जना सब–इन्जिनियर र १ जना अमिनलाई करारमा नियुक्त गरी पारिश्रमिक खर्च गरिएको उल्लेख गरेको छ। यसरी गरिएको खर्चसमेत अनियमित देखिएको महालेखाको निष्कर्ष छ ।
महालेखाले कानुनविपरीत कर्मचारी नियुक्ति गर्ने नगर प्रमुख किशोरी साह कलवार र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र जयनारायण राय यादवलाई जिम्मेवार र जवाफदेही बनाउन तथा स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै वर्तमान प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले आफू नगरपालिकामा आएको एक महिना मात्र भएकाले कर्मचारी नियुक्तिको प्रक्रिया र त्यसबेलाको निर्णयबारे जानकारी संकलन गरिरहेको बताए ।
नगर प्रमुख किशोरी साह कलवारले भने अधिकांश करार कर्मचारी आफू निर्वाचित हुनुअघि नै नियुक्त भइसकेको दाबी गरेका छन्। उनले करार कर्मचारी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालको कार्यकालमा नियुक्त भएको र आफ्नो कार्यकालमा नयाँ करार नियुक्ति नगरेको बताएका छन्। प्रत्येक वर्ष करार कर्मचारीको संख्या घटाउने प्रयास भइरहेको उनको भनाइ छ । तर त्यस आर्थिक वर्षमा नगर प्रमुख कलवार नै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ ।
यता तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयनारायण राय यादवसंग यस सम्बन्धमा बुझ्न खोज्दा उनी सम्र्पकमा आउन चहेनन् ।
त्यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले आफ्नो कार्यकालमा कानुनविपरीत कुनै कर्मचारी नियुक्त नगरेको दाबी गरेका छन्। उनले आफू आउनुअघि नै अधिकांश कर्मचारी कार्यरत रहेको र आफ्नो कार्यकालमा भएका नियुक्ति कानुनसम्मत रहेको बताएका छन् ।


