बारा । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डबाट प्रहरीले २०७ किलोग्राम लागुऔषध गाँजासहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त सडकखण्ड हुदै औषधजन्य पदार्थ लुकाई भिष्वातर्फ जादै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभड्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब ६ः३० बजे प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअपलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीभित्र सिमेन्टको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध गाजा जस्तो देखिने पदार्थ २०७ किलोग्राम गाँजा बरामद भएको पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
प्रवक्ता मल्लका अनुसार पिकअप चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ मा बस्ने ४८ वर्षीय कृष्णा लामालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले बरामद गाँजा, पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता मल्लले जानकारी दिए ।


