जीतपुर । विद्यार्थीको नाम, जन्ममिति लगायत व्यक्तिगत विवरणमा एकरूपता कायम गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई अभिलेख अद्यावधिक गर्दा जन्मदर्ता प्रमाणपत्रलाई मुख्य आधार बनाउन भनेको छ। सामुदायिक र संस्थागत दुवै विद्यालयलाई पठाइएको पत्रमार्फत उपमहानगरपालिकाले आधारभूत तहमा अध्ययनरत विद्यार्थीको विवरण आधिकारिक कागजातसँग मिलाउन निर्देशन दिएको हो।
पञ्जीकरण शाखाकी अधिकृत दुर्गा न्यौपानेले जारी गरेको पत्रमा विद्यालयका अभिलेखमा रहेको विद्यार्थीको व्यक्तिगत विवरण र जन्मदर्ता प्रमाणपत्रमा उल्लेखित विवरणबीच समानता कायम गर्न आग्रह गरिएको छ। विद्यालयबाट विभिन्न प्रयोजनका लागि सिफारिस गर्दा पनि जन्मदर्तामा कायम भएको विवरण नै प्रयोग गर्न भनिएको छ।
उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्तासम्बन्धी काममा गलत विवरण प्रयोग गर्ने वा झुटा कागजातका आधारमा सिफारिस गर्ने कार्यलाई गम्भीर कानुनी विषयका रूपमा स्पष्ट पारेको छ। जन्मदर्ताबाहेकका कागजात पेस गरेर गलत विवरण कायम गराउने प्रयास भएमा सम्बन्धित व्यक्ति तथा त्यस्तो कार्यमा संलग्न हुनेलाई कानुनअनुसार कारबाही हुन सक्ने जनाइएको छ।
पत्रमा यस्तो कसुर प्रमाणित भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी प्रावधानबारे विद्यालयलाई जानकारी गराइएको छ।
विद्यार्थीको शैक्षिक अभिलेखदेखि सरकारी कागजातसम्म व्यक्तिगत विवरण फरक नपरोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले विद्यालयहरूलाई सावधानी अपनाउन भनेको हो। विशेषगरी विद्यार्थीसम्बन्धी कुनै सिफारिस वा विवरण अद्यावधिक गर्नुअघि जन्मदर्ता प्रमाणपत्रमा रहेको विवरण रुजु गर्न निर्देशन दिइएको छ।


