जीतपुरसिमरामा तीन वर्षीया बालिकाको शव सुनसान घरमा फेला

रञ्जन यादव
146 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट शनिबारदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरीको शव मंगलबार साँझ सुनसान घरभित्र फेला परेको छ।

घरबाहिर खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले बालिकाको खोजी गरिरहेको थियो। यसै क्रममा स्थानीय गोठालाहरूले सुनसान अवस्थामा रहेको एउटा घरभित्रबाट गन्हाउने गन्ध आएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले घटनास्थलमा पुगेर खोजी थालेको थियो।

बालिकाको घरबाट करिब दुई सय मिटरको दूरीमा रहेको उक्त घरमा लामो समयदेखि मानिस बस्दै आएका थिएनन्। सोही घरभित्र बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपछि प्रहरीले बुधबार साँझ करिब ५ बजेदेखि घटनास्थललाई घेरा हालेर अनुसन्धान अघि बढाएको छ।

घटनाको अनुसन्धानका लागि वीरगन्जबाट तालिमप्राप्त कुकुरसमेत ल्याइएको छ।प्रहरीले घटनास्थल सुरक्षित राख्दै शवको अवस्था, घटनास्थलमा भेटिएका प्रमाण तथा बालिका कसरी त्यहाँ पुगिन् भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

बालिकाको मृत्युको कारण भने पोस्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ। पोस्टमार्टमकोलागि प्रहरीले बालिकाको शब प्रादेशिक अस्पताल कलैयामा पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाले बालिकाको मृत्यु दुर्घटना, अन्य कुनै कारण वा आपराधिक घटनासँग सम्बन्धित हो भन्ने विषयमा प्रहरीले तत्काल कुनै निष्कर्ष सार्वजनिक गरेको छैन। प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरू तथा स्थानीयवासीसँग समेत सोधपुछ गरिरहेको जनाएको छ।

Leave a review