बारामा प्रहरीले नियमित सवारी चेकजाँच अभियान संचालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत नियमित चेकजाँच गर्ने गरेको हो ।
प्रहरीले गत सात दिनमा सात सय ८५ सवारी साधनलाई कारवाही गरेको छ । वैशाख ४ देखि १० गते सम्ममा सवारी चेकजाँच गर्दा ट्राफिक नियम विपरित चलाईएका सात सय ८५ सवारी साधनहरूलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सवारी साधनलाई गरिएको कारवाहीबाट जरिवाना वापत रु सात लाख १४ हजार पाँच सय रुपैयाँ जरिवाना राजस्व संकलन गरेको प्रहरीले जनाएको छ।
प्रहरीले १५ वटा भारतीय नम्बर प्लेटको सवारीलाई भन्सार कार्यालय वीरगंज पठाइएको छ भने ३ थान ब्लुबुकहरुलाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय बारामा पठाएको छ ।
ट्राफिक व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन समेत भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।
ट्राफिक प्रहरी,नेपाल प्रहरी र यातायात व्यवस्था कार्यालय बाराका कर्मचारीहरुको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दै आएको प्रवक्ता न्यौपानेले बताए ।
ब्लुबुक नवीकरण,सवारीसाधन नामसारी तथा यातायात सम्बन्धि कागज पत्र चेकजाँच गर्नका लागि यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई राखी चेकजाँच गरीएको प्रबक्ता न्यौपालेले बताएका छन ।
बारा प्रहरीले विगत केही दिनदेखि ट्राफिक सचेतना कार्यक्रम र कारर्वाहीलाई विशेष प्राथमिकता दिदै आएको छन ।

