बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनामा न्यायको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकखण्डको सिमरामा आज चौथो दिन पनि सडक धर्ना जारी राखेका छन्।
बुधबार बिहानदेखि अवरुद्ध सडकमा प्रदर्शनकारीले टेन्ट टाँगेर धर्ना दिइरहेका छन्। गरिमाको परिवारलाई समर्थन जनाउँदै बाराका विभिन्न क्षेत्रबाट स्थानीय सिमरामा भेला भइरहेका छन्।
बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको उपस्थितिमा पाँचबुँदे सहमति भए पनि मृतक बालिकाको परिवारले त्यसलाई अस्वीकार गरेपछि आन्दोलन निरन्तर भएको हो।
सडक अवरुद्ध भएपछि प्रहरीले खुलाउने प्रयास गर्दा केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भनाभनसमेत भएको छ। डीएसपी दयाकृष्ण भट्टले पथलैयाको आन्दोलन सिमरामा केन्द्रित गर्न स्थानीयलाई आग्रह गरेका छन्।
गरिमाको शव अझै प्रादेशिक अस्पताल कलैयामा रहेको छ।परिवारले न्यायको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।


