रसुवा बाढीपछि बाराका १५ जना सम्पर्कविहीन, प्रशासनले सार्वजनिक गर्‍यो विवरण

साझेदारी डेलि
90 पाठक संख्या

बारा । भदौ १० गते बुधबार बिहान रसुवा जिल्लामा आएको बाढीपछि बारा घर भएका १५ जना हालसम्म सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय बाराले विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा मदन स्याङबो लामा रहेका छन्। उनको उमेर खुलाइएको छैन। विवरणमा उनको ठेगाना मकवानपुरको छतिवडा गाउँपालिका–४, नयाँ डमर उल्लेख छ। उनी जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी नायब निरीक्षक रहेका हुन् ।

बारा जिल्लाको परवानीपुर गाउँपालिका–५, बहुअरीका ३५ वर्षीय नम नारायण सिंह रसुवा भन्सारमा ट्रक लिएर गएको अवस्थामा सम्पर्कविहीन भएका छन्।

त्यस्तै, कलैया उपमहानगरपालिका–२२, धोध टोलका २३ वर्षीय सत्य प्रकाश राम रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्। आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहाका २३ वर्षीय अंकित पटेल पनि रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन छन्।

प्रसौनी गाउँपालिका–३ का जितेन्द्र कुमार दास र कलैया उपमहानगरपालिका–२३ का श्रीनिवास मण्डल दुवै जना रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन भएका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ का रजित श्रेष्ठ त्रिशूली हाइड्रोपावर, रसुवामा काम गर्ने क्रममा सम्पर्कविहीन भएका हुन्। करैयामाई गाउँपालिका–२ का ३० वर्षीय धिरज चौधरी पनि रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन छन्।

त्यसैगरी, सुवर्ण गाउँपालिका–५, औरैयाका रुपेश कुमार साह नौकुण्ड गाउँपालिका, रसुवामा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्। त्यस्तै, सुवर्ण गाउँपालिका–४, हरहियाका रमेश कुमार यादव पनि रसुवामा रहेका बेला बाढीपछि सम्पर्कविहीनको सूचीमा परेका छन्।

निजगढ नगरपालिका–९, शान्तिटोलका ३९ वर्षीय राज विष्ट त्रिशूली हाइड्रोपावर, रसुवामा काम गर्ने क्रममा सम्पर्कविहीन भएका छन्। निजगढ नगरपालिका–९ का दिनेश परिवार ट्रक–कन्टेनर चालक हुन्। उनी रसुवाबाट सामान ढुवानीका लागि गएको अवस्थामा सम्पर्कविहीन भएका हुन्।

कलैया उपमहानगरपालिका–६, आदर्शटोलका २८ वर्षीय देवेश भट्टराई अपर त्रिशूली–३बी परियोजनाको पहिरेबेँसी प्रोजेक्ट साइटमा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्।

सुवर्ण गाउँपालिका–१ का २२ वर्षीय सुरज कुमार साह रसुवास्थित श्रीनाथ गण ब्राबल ब्यारेकमा कार्यरत थिए। उनी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। त्यस्तै, निजगढ नगरपालिका–८ का ५५ वर्षीय उत्तम न्यौपाने भदौ १० गते काठमाडौं हुँदै रसुवा गएको र त्यसपछि सम्पर्कमा नआएको विवरणमा उल्लेख छ।

उनीहरू सम्पर्कविहीन भएको जानकारी आफन्त तथा परिवारजनले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), इलाका प्रहरी कार्यालय महेन्द्र जय नगर, सशस्त्र प्रहरी बेस तेलकुवा, निजगढ तथा जिल्ला प्रशासन कार्यालय बारामा गराएका हुन्।

जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन १५ जना पुरुष छन् र उनीहरू रोजगारी, सरकारी सेवा तथा मालसामान ढुवानीलगायतका कामको सिलसिलामा रसुवा पुगेका थिए।

प्रशासनले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको जनाएको छ। साथै, सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित आपत्कालीन उद्धार निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

Leave a review