बारा उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई सहयोग गर्न अपिल

साझेदारी डेलि
51 पाठक संख्या

कलैया । बारा उद्योग वाणिज्य संघले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोग गर्न उद्योगी, व्यवसायी तथा व्यापारीलाई अपिल गरेको छ।

संघका महासचिव रामअशिष साह कानुले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संघले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

संघले बाढीपीडित परिवारको तत्काल राहतका लागि आफ्नो पहलमा राहत सामग्री संकलन तथा वितरण गर्ने निर्णय गरेको जनाएको छ। प्रारम्भिक चरणमा करिब ८ सय बोरा राहत सामग्री संकलन गर्ने लक्ष्य राखिएको छ। प्रत्येक बोराको लागत करिब ३५० रुपैयाँ पर्ने संघले जनाएको छ।

राहत सामग्रीको प्रत्येक बोरामा चिउरा, भुजा, चाउचाउ र बिस्कुट समावेश गरिनेछ। संघले उद्योगी, व्यवसायी तथा व्यापारीलाई आफूले सक्नेअनुसार एक बोरा, दुई बोरा वा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ।

‘तपाईंले गरेको सानो सहयोग पनि विपद्मा परेका कुनै परिवारका लागि ठूलो सहारा बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ। दुःखको यस घडीमा सबै एकजुट भई बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीको साथमा उभिन संघले अपिल गरेको छ।

राहत सहयोग तथा समन्वयका लागि संघले ९८४५१२८३९६ र ९८२१२२७०३० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। विपद्को घडीमा एकता, सहयोग र मानवता नै पीडितको ठूलो सहारा हुने संघले जनाएको छ।

Leave a review