सुजित पाण्डेय मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग

साझेदारी डेलि
55 पाठक संख्या

बारा । जनमत पार्टीका केन्द्रिय सदस्य एवम् युवा नेता सुजित पाण्डेयको असामयिक मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बाराका राजनीतिक दल, समाजसेवी, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी तथा नागरिक समाजले संयुक्त रूपमा प्रशासनको ध्यानाकर्षण गराएका छन्।

विभिन्न क्षेत्रका प्रतिनिधिहरूको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा पाण्डेयको मृत्युले आफूहरूलाई गम्भीर रूपमा चिन्तित र निराश बनाएको उल्लेख गर्दै घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरिएको छ।

विज्ञप्तिमा पाण्डेयको मृत्युको घटना रहस्यमयी रहेको भन्दै यसबाट आम नागरिकमा डर, त्रास र निराशाको वातावरण सिर्जना भएको दाबी गरिएको छ। घटनाले जिल्लाको शान्ति–सुरक्षा तथा नागरिकको सुरक्षाप्रति प्रशासनको भूमिकामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त रूपमा अघि सारिएका मागमा कलैया उपमहानगरपालिकामा पाण्डेयसँग भएको घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावरहित छानबिन तत्काल गर्न आग्रह गरिएको छ। घटनासँग सम्बन्धित सम्पूर्ण तथ्य, प्रमाण तथा संलग्न पक्षहरूको गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरिएको छ।

त्यस्तै, घटनाको स्पष्ट कारण आम नागरिकसमक्ष पारदर्शी रूपमा सार्वजनिक गर्न तथा बारा जिल्लामा पछिल्लो समय देखिएका आपराधिक गतिविधि, हिंसा र असुरक्षाका घटनालाई तत्काल नियन्त्रण गर्न प्रशासनसँग माग गरिएको छ।

विज्ञप्तिमार्फत जिल्लाको शान्ति–सुरक्षा कायम गर्न प्रशासनले प्रभावकारी, निष्पक्ष र जवाफदेही भूमिका निर्वाह गर्नुपर्ने तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिइएको छ।

पाण्डेयको मृत्यु प्रकरणमा न्याय सुनिश्चित गर्दै पीडित परिवारलाई न्याय, सुरक्षा तथा आवश्यक सहयोग उपलब्ध गराउन पनि माग गरिएको छ। संयुक्त विज्ञप्तिमा न्यायको माग कुनै व्यक्ति, राजनीतिक दल वा समुदायविरुद्धको अभियान नभएको स्पष्ट पारिएको छ।

कानुनी शासन, नागरिकको सुरक्षा र सत्यतथ्य स्थापित गर्न आफूहरूको साझा अभियान रहेको उल्लेख गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ।

अन्त्यमा विज्ञप्तिमार्फत सुजित पाण्डेय मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा जिल्लामा बढ्दो आपराधिक गतिविधि प्रभावकारी रूपमा नियन्त्रण गर्न सम्बन्धित निकायसमक्ष एकताबद्ध रूपमा जोडदार माग गरिएको छ।

Leave a review