कोल्हबी उद्योग वाणिज्य संघको समन्वयमा रसुवा बाढीपीडितलाई खाद्यान्न र नगद सहयोग

साझेदारी डेलि
32 पाठक संख्या

कोल्हबी । बिनिता चौधरी / रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि कोल्हवी नगर उद्योग वाणिज्य संघको समन्वयमा बाराको कोल्हबीबाट खाद्यान्न, राहत सामग्री तथा नगद सहयोग संकलन गरिएको छ। कोल्हबीका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्था, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरूको सहकार्यमा कोल्हबी नगर क्षेत्रभित्रका विभिन्न बजारबाट राहत सामग्री संकलन गरिएको हो।

संकलन गरिएको राहत सामग्रीमा चामल २५ बोरा, चिउरा ३४ बोरा, भुजा १६ बोरा, चाउचाउ ४६ कार्टुन, बिस्कुट ७ बन्डल र ३ कार्टुन, पानी ३८ कार्टुन, त्रिपाल ८ थान, सोयाबिन ४ बोरा, सेनेटरी प्याड ५० पिस, मास्क ६ प्याकेट, डालमोट १ बोरा तथा मसुरोको दाल १ बोरा रहेको छ। राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद रु. १ लाख १९ हजार २ सय ३० समेत संकलन गरिएको छ।

संकलित राहत सामग्री तथा नगद रकम सम्बन्धित पीडितसम्म पुर्‍याउन कोल्हबी नगर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको टोली मंगलबार रसुवातर्फ प्रस्थान गर्ने भएको छ। विपद्को समयमा मानवीय सहयोग गर्नु सबैको साझा दायित्व भएकाले विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको सहकार्यमा राहत सामग्री संकलन गरिएको कोल्हबी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाईंले जनाए। बाढीबाट प्रभावित वास्तविक पीडित परिवारसम्म पुर्‍याउने उद्देश्यले टोली स्वयं रसुवा जान लागेको उनले जानकारी दिए।

राहत संकलन अभियानमा स्थानीय व्यवसायी, उद्योगी, संघ–संस्था, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। रसुवामा बाढीका कारण जनधनको क्षति तथा विभिन्न क्षेत्रमा प्रभावित नागरिकलाई राहतको आवश्यकता भइरहेका बेला कोल्हबीबाट गरिएको यो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave a review