जीतपुर । राजमार्ग तथा विभिन्न सडक खण्डमा भइरहेका अवैध कर, शुल्क, चन्दा र जबर्जस्ती असुली तत्काल रोक्न माग गर्दै बाराका जेन–जी अगुवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
जिल्ला प्रशासन कार्यालय बारामा बुझाइएको ज्ञापनपत्रमा स्थानीय समूह, व्यक्ति तथा गिरोहहरूले राजस्व, दान र शुल्कको नाममा दैनिक रूपमा अवैध असुली गरिरहेको उल्लेख गरिएको छ। ज्ञापन बुझाउने कार्यक्रममा सहभागी जेन–जी अगुवा कुनालराज गिरीका अनुसार यस्ता गतिविधि गृह मन्त्रालयको स्पष्ट निर्देशन विपरीत रहेका छन्।
ज्ञापनपत्रमा नेपाल सरकार, गृह मन्त्रालयले पटक–पटक अवैध असुली बन्द गर्न निर्देशन दिए पनि व्यवहारमा खुलेआम असुली भइरहेको गुनासो गरिएको छ। विशेषगरी त्रिभुवन राजपथ, लेन–वीरगञ्ज सडक खण्डलगायत क्षेत्रमा यस्ता गतिविधि कायमै रहेको जनाउँदै यसबाट यातायात व्यवसायी, व्यापारी, किसान, भारतीय सवारीसाधन तथा सर्वसाधारण नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख छ।
जेन–जी अगुवाहरूले अवैध असुलीले कानुनी शासन कमजोर बनाउँदै सामाजिक अशान्ति, विवाद र उद्यमशीलताको सुरक्षामा गम्भीर चुनौती पैदा गरिरहेको बताएका छन्।
ज्ञापनमार्फत उनीहरूले राजमार्गमा भइरहेका सबै प्रकारका अवैध असुली तत्काल रोक्न कडा निर्देशन जारी गर्न, संलग्न व्यक्ति वा समूहलाई कानुनअनुसार कारबाही गर्न, प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय गरी नियमित निगरानी व्यवस्था मिलाउन र नागरिकलाई सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन्।
ज्ञापन ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विषय गम्भीर रहेको बताउँदै आवश्यक अध्ययन, समन्वय र पहलमार्फत उचित कदम चालिने आश्वासन दिएका छन्।


