एक करोड तीन लाख सन्तानव्वे हजार बराबरको अवैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
284 पाठक संख्या

बारा प्रहरीले एक करोड तीन लाख ९७ हजार बराबरको अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिहरूले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकमा बिल भरपाई भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको अन्दाजी एक करोड तीन लाख ९७ हजार पाँच सय ७१ रूपैयाँ बराबरको अवैध सामान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित बीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख ३७४ को ट्रकमा लोड रहेको अन्दाजी २६ लाख ६४ हजार तीन सय ६१ बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै प्रहरीले बीरगंजबाट बाँके तर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख २८३८ नम्बरको ट्रकमा लोड रहेको अन्दाजी ६१ लाख ६८ हजार एक सय १९ रुपैयाँ बराबरको खुद्रा सामानको बरामद गरेको हो ।

त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकस्थित बीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख ७०५० नम्बरको ट्रकमा लोड रहेको अन्दाजी १५ लाख ६५ हजार ९१ रुपैयाँ बराबरको खुद्रा सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review