कलैयामा यात्रु सहायता कक्षको सिडिओ अधिकारीद्वारा उद्घाटन

संदिप प्रसाद यादव
63 पाठक संख्या

बारा । चाडपर्वलाई लक्षित गर्दै यात्रुहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले आइतबार एक कार्यक्रमबीच रिबन काटेर उक्त सहायता कक्षको उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा गढीमाई यातायात प्रालिका अध्यक्ष देवनन्द साह (सञ्जय) ले यात्रुहरूलाई हुने समस्या तत्काल समाधान गर्न ट्राफिक प्रहरीलाई आग्रह गरे। उनले कलैयामा बिना लाइसेन्स र रुट परमिट अटो सञ्चालन हुने गरेको उल्लेख गर्दै अटोमा यात्रा गर्दा यात्रुका सामान छुट्ने समस्या पनि देखिएको बताए। उनले यात्रुहरूलाई सम्बन्धित सवारीसाधनमा यात्रा गर्न आग्रह गरे।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले यात्रुहरूको आवागमन बढेसँगै त्यसलाई व्यवस्थित र नियमन गर्ने प्रमुख जिम्मेवारी ट्राफिक प्रहरीको रहेको बताए।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले जानकारी दिए।

अन्य जिल्लालाई गन्तव्य बनाएर जाने तथा अन्य जिल्लाबाट कलैया आउने यात्रुहरूको शान्तिसुरक्षा, सामानको सुरक्षा, भाडादर र अन्य समस्यासम्बन्धी गुनासो तथा उजुरी तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको एसपी कुँवरले बताए। यात्राका क्रममा कुनै असुविधा भएमा सहायता कक्षमा सम्पर्क गर्न उनले यात्रुहरूलाई आग्रह गरे।

यात्रुहरूको सुरक्षा र शान्तिसुव्यवस्थासम्बन्धी अन्य समस्या भएमा जिल्ला प्रहरी कार्यालयले समेत आवश्यक सहयोग गर्ने उनले बताए। साथै, स्थानीय सवारीचालकहरूलाई ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य गर्दै यात्रु सहायता कक्षको सदुपयोग गर्न उनले आग्रह गरे।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अधिकारीले नागरिकको यात्रा सहज, सरल र सुरक्षित बनाउनु सहायता कक्ष स्थापनाको मुख्य उद्देश्य रहेको बताए। यात्राका क्रममा भाडादर, सवारीसाधनमा बस्दा हुने सुरक्षा समस्या, सामान हराउने वा अन्य कुनै किसिमका गुनासो भएमा यात्रु सहायता कक्षमार्फत सम्बोधन गरिने उनले बताए।

जिल्ला सुरक्षा समितिको योजना तथा ट्राफिक प्रहरीको आयोजनामा बाराका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिँदै उनले नागरिक, यातायात व्यवसायी, चालक तथा सहचालकलाई आफ्ना गुनासो राख्न आग्रह गरे। सहायता कक्षमार्फत यात्रुहरूले सहज रूपमा आफ्नो गन्तव्यसम्म पुग्न सक्ने अपेक्षा गरिएको उनले बताए।

बडादसैँ, तिहार र छठलगायतका चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित समस्या न्यूनीकरण गर्न देशका विभिन्न जिल्लामा सहायता कक्ष स्थापना गरिएको उल्लेख गर्दै उनले यस अभियानबारे प्रचारप्रसार गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवका अनुसार सहायता कक्षमा सार्वजनिक सवारीसाधनको भाडादर समायोजनसम्बन्धी २०८३ वैशाख १६ गते कायम गरिएको छोटो, मध्यम तथा लामो दूरीका अन्तरप्रदेशीय मार्गको भाडादरसमेत राखिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले चाडपर्वका बेला सुरक्षित यात्रा सुनिश्चित गर्ने, दुर्घटना न्यूनीकरण गर्ने तथा यात्रुका गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताए।

उनका अनुसार भाडा वृद्धि, चोरीलगायतका समस्या सुन्ने र तत्काल समाधान गर्ने उद्देश्यले फिल्डमै सहायता कक्ष सञ्चालन गरिएको हो। बाराका चार स्थानमा स्थापना गरिएका सहायता कक्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतका प्रतिनिधिसमेत रहने उनले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपनिर्देशक सरोज निरौला,बारा गढीमाई यातायात प्रालिका कार्यालय सचिव वीरेन्द्रप्रसाद मण्डल, यातायात व्यवसायी, जेनजी युथ अफ बाराका सदस्य आनन्द गुप्ता, सवारीचालक, सहचालक, यात्रु, सर्वसाधारण तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक भट्टराईले गरेका थिए।

Leave a review