७१ औँ प्रहरी दिवसमा साझेदारीका सम्पादक यादवसहित दुई सञ्चारकर्मी सम्मानित

संदिप प्रसाद यादव
76 पाठक संख्या

बारा । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवस-२०८३ को अवसरमा साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक श्यामबाबु प्रसाद यादवसहित बाराका दुई जना सञ्चारकर्मी सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार कलैयामा आयोजना गरेको अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान कार्यक्रममा सञ्चारकर्मीहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो ।

अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्न पत्रकारिताको माध्यमबाट इमानदारीपूर्वक महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्पादक यादवलाई कदरपत्र प्रदान गरिएको हो ।

बारामा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका यादवलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले संयुक्त रूपमा कदरपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले आगामी दिनमा नेपाल प्रहरी र सञ्चारकर्मीबीचको समन्वय तथा सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए ।

सोही अवसरमा उज्यालो न्युज डटकमका सञ्चालक धीरेन्द्र तिवारीलाई पनि सम्मान गरिएको छ ।

प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा समाजमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a review