बारामा स्कारपियोको ठक्करबाट एक किशोरको मृत्यु, दुई घाइते

साझेदारी डेलि
119 पाठक संख्या

बारा । बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान करिब ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर १९ जि ९९२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ निवासी परमानन्द यादवका १७ वर्षीय छोरा धिरज यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ११ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार कलैया–२१ भोडहा निवासी शिव गोपाल साहका १६ वर्षीय छोरा नगेश साह घाइते भएका छन्। उनको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही स्थानका विक्रम प्रसाद यादवका १८ वर्षीय छोरा अरुण यादव पनि घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमान्डमा खटिएको टोलीले स्कारपियो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी करिब ३८ वर्षीय अरुण कुमार दुबे रहेको प्रहरीले जनाएको छ।

स्कारपियो चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ।

घटनास्थलको मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

Leave a review