काठमाण्डौ : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ का लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरुलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिएका हुन्।
निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुनेछ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र स्थानीय तह तथा वडाको विवरण अनुसार ताप्लेजुङ सिरीजङ्गा गाउँपालिकाको ३ नम्बरको वडा अध्यक्षमा जिल्ला न्यायाधीश विकास श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
आयोगले झापा कन्काई नगरपालिकावडा अध्यक्ष ६ को उप निर्वाचनको लागि उमेशप्रसाद लुईटेललाई मुख्य निर्वाचन अधिकृतमा आयोगले नियुक्त गरेको छ।
मोरङको ग्रामथान गाउँपालिकाको रिक्त रहेको अध्यक्ष पदको लागि मोरङ्ग जिल्लाका न्यायाधिश उद्ववप्रसाद भट्टराइलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
यस्तै तेह्रथुम लालीगुराँस नगरपालिकाको वडा नम्बर ८ को रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचनको लागि जिल्ला न्यायाधिश भीमबहादुर निरौलालाई आयोगले मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।
सुनसरी गढी गाउँपालिकाको वडा नम्बर ६ को रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचनको लागि सुनसरी जिल्लाका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। आयोगले ४२ वटा स्थानमा उपनिर्वाचन हुने जनाएको छ।

