कोल्हबी । बिनिता चौधरी / पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टद्वारा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम बिहीबार बाराको कोल्हबी नगरपालिका-६ ककडी प्रसौनास्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।
ट्रष्टको चौथो वार्षिक साधारण सभाको अवसरमा आयोजित उक्त कार्यक्रममा दुई महिलासहित ३० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा २८ जना पुरुष र दुई जना महिला रहेका छन्।
‘रक्तदान नै जीवनदान हो’ भन्ने नारालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रमको उद्देश्य आवश्यक परेको समयमा बिरामीहरूलाई रगत उपलब्ध गराउन सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ।
रक्तदानजस्तो मानवीय तथा सामाजिक कार्यले समाजमा सहयोग, सद्भाव र मानवताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
ट्रष्टको चौथो वार्षिक साधारण सभाको अवसरमा आयोजित यस कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवाप्रति संस्थाको प्रतिबद्धता र सक्रियता उजागर गरेको छ।



