सीमावर्ती क्षेत्रका नागरिकको जनजीवनलाई असर गर्ने निर्णय सच्याउन सोनलको सुझाव

रञ्जन यादव
45 पाठक संख्या

कलैया । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता जितेन्द्र सोनलले नेपाल–भारत सीमासम्बन्धी नीतिहरू बनाउँदा सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन र आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

मधेस मिडिया काउन्सिलले कलैयामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सीमा सुरक्षा राज्यको दायित्व भए पनि त्यसका नाममा सर्वसाधारणको आवतजावत, व्यापारिक गतिविधि र पारिवारिक सम्बन्धमा अनावश्यक अवरोध सिर्जना गर्न नहुने धारणा राखे। सीमासँग जोडिएको मधेसको सामाजिक र आर्थिक जीवनलाई बेवास्ता गरेर गरिने निर्णयले जनस्तरमा असन्तुष्टि बढाउन सक्ने उनको भनाइ थियो।

हाल लागू गरिएका केही सीमा व्यवस्थापनसम्बन्धी निर्णयले साना व्यापारी, श्रमिक तथा सीमावर्ती बासिन्दा प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उनले यस्ता विषयमा सरकारलाई व्यवहारिक दृष्टिकोण अपनाउन आग्रह गरे।

सोनलले लोकतान्त्रिक संस्थाको विश्वसनीयता कायम राख्न संवैधानिक निकायहरूले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए। आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर गरिने अभिव्यक्तिले संस्थाप्रतिको जनविश्वास कमजोर बन्न सक्ने उनको टिप्पणी थियो।

उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिहरूलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराए। कार्यक्रममा मधेसको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे समेत छलफल भएको थियो।

सो अवसरमा कार्यक्रमका प्रशिक्षक समेत रहेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्रकुमार झाले बाराका पत्रकारलाई समाचार लेखन र पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण दिएका थिए।

Leave a review

This will close in 0 seconds