Sajhedari Daily
Latest News from Nepal

पर्सामा बैशाख ३० गतेसम्म निषेधाज्ञा जारी रहने

राम मण्डल /
कोरोना संक्रमित हुनेहरुको संख्यामा कमि नआएपछि पर्सा जिल्लामा निषेधाज्ञालाई थप गरिएको छ । यसअघि देखी जारी निषेधाज्ञालाई आउदो बैशाख ३० गतेसम्म थप गरिएको छ । मंगलबार जिल्ला कोभिड सँकट ब्यावस्थापन समितिको बैठकले हाल जिल्लामा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिएका ।

यसअघि गत बैशाख १६ गते बिहान ४ बजेदेखि लागु गरिएको निषेधाज्ञा अब ३० गते राति १२ बजेसम्म जारी राख्ने प्रजिअ घिमिरेले बताए । साथै बैठकले जिल्लामा बढदै गएको कोरोना सँक्रमितहरुको उपचारलाई मध्यनजर गर्दै जिल्लामा संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने र यसका लागि चाहिने आवश्यक सहयोग गर्ने निर्णय भएको छ । यस्तै हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै कोभिडका बिरामीहरुलाई चाहिने अक्सिजन अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने, अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरि कोभिड–१९ को संक्रमित विरामीको उपचार गर्न बीरगंज महानगरपालिकाद्वारा बीरगंज महानगरपालिका भित्र उपयुक्त स्थानमा १ सय बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने, तत्कालै १ सय बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने,कोभिड–१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन बीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउने निर्णय डिसिसिएमसीले गरेको छ ।

यस्तै नारायणी अस्पताल विकास समितिबाट माग गरिएका २ जना कर्मचारीहरुलाई कोभिड–१९ को विरामीको उपचार गर्ने काममा खटाईएकोमा निजहरुसँग नारायणी अस्पतालले बढिमा चार महिनाको करार सम्झौता गरी प्रदेश सरकारले डिसिसिएमसीलाई उपलब्ध गराएको बजेटबाट पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरि जानकारी दिएको छ ।