स्वर्णकार हत्या प्रकरण : भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने साह पक्राउ

संदिप प्रसाद यादव
1.5k पाठक संख्या

बारा प्रहरीले स्वर्णकार हत्या प्रकरणका मुख्य भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने साहलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार हत्या प्रकरणका मुख्य भारतीय सार्प सुटर सुजित कुमार सिंहलाई छुटाईदिन्छु भनी रकम ठगी गर्ने महागढीमाई नगरपालिका वडा नम्बर १ मा बस्ने अन्दाजी २३ वर्षीय श्यामबाबु साहलाई नियन्त्रणमा लिइएको हो ।

सुटर सिंहको बुवा जयमंगल सिंहसँग सिंहको मुद्धा प्रहरी,सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भनी साहले १६ लाख रुपैया माग गरेका थिए ।

सुटर सिंहको बुवासँग साहले १ लाख ९२ हजार रकम लिई ठगी गरेको भन्ने जंयमगल सिंहको जाहेरी दरखास्तको आधारमा शनिबार साह पक्राउ परेका हुन् ।

विभिन्न हत्यामा सुपारी लिई गोली हानी हत्या गरेका फरार प्रतिवादी भारतको मोतिहारी जिल्ला छौडादानो पञ्चायत,तिनकुनि बस्ने अन्दाजी ३२ वर्षीय सार्प सुटर सुजित कुमार सिंहलाई बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा प्रहरीले पुस १० गते भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीसँगको मुठभेडमा दुबै खुट्टामा गोली हानी पक्राउ गरिएको थियो ।

प्रहरीको सुरक्षा घेरामा भारतीय सुटर सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

आरोपीविरुद्ध प्रहरीले अदालतबाट ठगी तथा आपराधिक बिश्वासघात सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

सो ठगीमा संलग्न अन्य व्यक्तिहरू उपर अनुसन्धान एवम् खोजी भईरहेको बाराका प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds