जीतपुरसिमरा नगर क्षेत्रमा पछिल्लो सयम बित्तिय संस्थाहरुमा चोरीको घट्ना बढिरहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतका बैँक,वित्तिय संस्था तथा सहकारीहरुमा चोरीका घटनाहरु बढिरहेको हो । पटक पटक गरी विभिन्न बैँक तथा वित्तिय संस्थाहरुमा चोरीका घटनाहरु भईरहेपनि प्रहरीले अहिलेसम्म चोरहरुलाई समात्न सकेको छैन् ।
सिमरामा बिहिबार राती एकैपटक दुई वटा सहकारी संस्थामा चोरी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । करिब दुई सय मिटरको दुरीमा रहेका यी दुवै सहकारीमा चोरी भएपनि नगद रकम भने चोरी हुन पाएन ।
चोरहरुले सहकारीको ताला फुटाएर कार्यालय भित्र प्रवेश गरेका र रकम फेला नपारेपछि सिसि क्यामराको हार्डडिक्स चोरेर लगेका छन । दुवै सहकारी संस्थाबाट सिसि क्यामरामा हार्डडिक्स चोरी भएको छ ।
झ्यालको ग्रिल निकालेर भित्र पसेका चोरले जनकल्याण सहकारीमा पैसा राख्ने भल्ट र दराजहरु फुटाएका छन् भने कागजात यत्रतत्र फालेका छन । भल्ट र दराजमा पैसा नभेटेपछि चोरले क्यामराको हार्डडिक्स चोरेर लगेका हुन् ।
यसैगरी यसअघि जीतपुर सिमरा नगर क्षेत्रकै मनहर्वाका दुई वटा सहकारी संस्थाबाट लाखौं रकम चोरी भएको थियो ।
जीतपुरसिमरा १८ मनहर्वास्थित साना किसान कृषी सहकारी संस्थाबाट २०७९ असार १९ गते १२ लाख ७४ हजार रुपैया चोरी भएको थियो ।
यसैगरी मनहर्वामै रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा गत असोज र कार्तिकमा दुई पटक चोरी भयो ।
असोज २८ गते तीन लाख १७ हजार र कार्तिक २१ गते १३ हजार रुपैया चोरी भएको थियो । यस्तै जीतपुरसिमरा १८ स्थित उचिडिमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा मंसिर ३ गते ताला फोडेर प्रिन्टर र हार्डडिक्स चोरी गरिएको थियो ।
यता जीतपुरसिमरा १५ डुमरवानामा रहेको कुमारी बैँकमा गत मंसिर ९ गते राती एटिएम मेशिन फोडेर रकम चोरीको प्रयास भएको थियो ।
यसरी चोरहरुले जीतपुरसिमरा नगरक्षेत्रका विभिन्न बैँक,वित्तिय र सहकारी संस्थाहरुमा चोरीका घटनाहरु भईरहेपनि चोरहरु पक्राउ नपर्नुले उनीहरुको मनोबल बढेको स्थानीयहरुको गुनासो छ ।


