बारामा छठको रौनक बढ्यो : नदी र पोखरी किनारमा पूजाको तयारी तीव्र

साझेदारी डेलि
65 पाठक संख्या

कलैया । बारा जिल्लाका गाउँबस्तीदेखि बजार क्षेत्रसम्म छठ पर्वको चहलपहल बढेको छ। सूर्यदेवप्रति आस्था प्रकट गर्दै मनाइने चारदिने छठ महापर्वको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि पूरा भएसँगै जिल्लाका विभिन्न जलाशय तथा नदी किनारमा पूजाको तयारीले गति लिएको छ।

छठ मनाउने परिवारले बिहानै स्नान गरी चोखो भोजन ग्रहण गर्दै पर्वको सुरुवात गरेका छन्। पहिलो दिन व्रतालुहरूले शुद्धता र संयमलाई प्राथमिकता दिँदै लसुन–प्याजरहित सात्त्विक भोजन गर्ने परम्परा छ। यससँगै घरघरमा छठको प्रसाद तयार पार्ने र पूजाका सामग्री जुटाउने कामसमेत सुरु भएको छ।

बाराको कलैया, जीतपुरसिमरा, निजगढ, कोल्हवी, महागढीमाई, सिम्रौनगढलगायतका क्षेत्रमा छठ घाट व्यवस्थापन, सरसफाइ र सजावटको काम भइरहेको छ। विशेषगरी पसाहा, दुधौरा, बालगंगा, जमुनी तथा स्थानीय पोखरी र तलाउ आसपासका क्षेत्रमा श्रद्धालुहरूको सुविधाका लागि घाट सफा गर्ने, पूजा स्थल व्यवस्थित बनाउने र बत्ती जडान गर्ने कामलाई तीव्रता दिइएको छ। स्थानीय युवा तथा विभिन्न सामाजिक संघसंस्थासमेत घाट व्यवस्थापनमा जुटेका छन्।

चार दिनसम्म चल्ने पर्वअन्तर्गत शनिबार ‘खरना’ विधि गरिनेछ। दिनभर उपवास बसेका व्रतालुले साँझ पूजा गरेपछि खीर, रोटी तथा अन्य सात्त्विक परिकार प्रसादका रूपमा ग्रहण गर्नेछन्। त्यसपछि सुरु हुने निर्जला व्रत मुख्य पूजासम्म जारी रहनेछ।

आइतबार साँझ षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ। बाँसका ढाकी, सुपली र नाङ्लोमा केरा, उखु, नरिवल, विभिन्न फलफूल तथा ठेकुवालगायतका प्रसाद सजाएर व्रतालुहरू जलाशय किनारमा पुग्नेछन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुनेछ।

छठ पर्व नजिकिएसँगै जिल्लाको सदरमुकाम कलैया लगायत जीतपुर, सिमरा, परवानीपुर, कोल्हवी,निजगढ बरियारपुर, सिम्रौनगढ लगायतका बजारमा किनमेल गर्ने सर्वसाधारणको भिड बढ्ेको छ । श्रद्धालुहरुले बाँसबाट बनेका ढाकी, सुपली, नाङ्लो, माटाका भाँडा, दियो, फलफूल, उखु, नरिवल, मिठाई र पूजाका अन्य सामग्रीको बिक्री बढेको व्यापारीहरूले बताएका छन्।

पर्वका लागि आवश्यक सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता बजार पुग्न थालेपछि फलफूल तथा किराना पसलमा कारोबार बढेको कलैयाका एक व्यावसायीले बताएका छन । छठले धार्मिक गतिविधिसँगै स्थानीय उत्पादन र साना व्यवसायको कारोबारलाई समेत चलायमान बनाएको छ।

छठलाई धार्मिक आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा लिइन्छ। अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ अर्पण गरिने यसको परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्नुपर्ने सांस्कृतिक सन्देशसमेत दिन्छ।

जातीय तथा सामाजिक विभेदभन्दा माथि उठेर सामूहिक रूपमा मनाइने यस पर्वमा घाट व्यवस्थापनदेखि पूजाका सामग्री जुटाउनेसम्म स्थानीयवासीको सहभागिता रहने गरेको छ। रोजगारी र अध्ययनका लागि बाहिर रहेका परिवारका सदस्यसमेत गाउँ फर्किन थालेपछि बारा जिल्लाका बस्तीमा पारिवारिक भेटघाट र उत्सवको वातावरण बनेको छ। यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै छठ पर्व विधिवत् सम्पन्न हुनेछ।

Leave a review