बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन ।
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु सहितले सफाई पाएका हुन ।
अधिकृत कानु सहित लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी,इन्जिनियर सुरेश कुमार यादव,सव–इन्जिनियर उपेन्द्र कुशवाहा र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ( गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार) मुद्दामा २०८० सालमा आरोप–पत्र दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र सदस्य मुरारीबाबू श्रेष्ठ सहितको इजलास नम्बर १ ले २०८० मा दायर उनीहरुको चार वटै मुद्दामा सोमबार सबै प्रतिवादीलाई सफाई दिएको हो ।
सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७÷०७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको भन्ने समेतको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदन उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।
सिम्रौनगढ नगरपालिकावडा नं. ८ स्थित रामदिनेशको घरदेखि कचोर्वा बजारसम्मको सडक ढलान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी रकम भुक्तानी गरेको र नापी किताबमा चढाई,झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी भए गरेको भन्दा बढी मूल्याङ्कन गरी भुक्तानी दिएको आरोपपत्रका अख्तियारले उल्लेख गरेको थियो ।
विशेष अदालतले उक्त मुद्दामा सवैलाई सफाई दिएको हो । अदालतबाट सफाई पाएसंग अब निलम्बित सात जना नै काममा फर्किने छन ।

