करण कुमार मिश्र/
रौतहटमा दुई पालिकाले नगर सभा भव्य रूपमा सम्पन्न गरेको छ ।
यस वर्ष जिल्लामा सबैभन्दा पहिला कटहरिया नगरपालिकाले बुधबार आफनो १०औं नगर अधिवेशन सम्पन्न गरेको थियो भने दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं नगर सभा तथा आठौं बजेट अधिवेशन सम्पन्न गरेको हो ।
पालिकाहरुले असार मसान्तभित्रमा नगरपरिषद् सम्पन्न गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार गरुडा नगरपालिकाले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ७० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गरुडास्थित कल्वार धर्मशालामा मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यता तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा भएको नगर सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।
नगर उपप्रमुख पुनम देवी चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेकी हुन् ।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण,विशेष अनुदान,सशर्त अनुदान,राजस्व बाँटफाँट,समपूरक अनुदान,आन्तरिक आयलगायत गरी बजेट प्रस्तुत गरिएको नगर प्रमुख जयसवालले बताए ।
शिक्षा,स्वास्थ्य,कृषि,यातायात,खानेपानी,विद्युत,भौतिक पूर्वाधार निर्माण कार्यलगायतलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताए ।
यसका अलावा समावेशीकरण÷गरिबी निवारण तथा कला,संस्कृति, खेलकुद,पूर्वाधार विकास,सिँचाइ,भवन तथा शहरी विकास,सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन,संस्थागत विकास तथा सुशासनलगायतका कार्यक्रममा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर जयसवालले उल्लेख गरे ।
उनले सीमित स्रोतसाधनका बाबजुद नगरपालिकाले केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताए । केही योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ । गरुडा नगरपालिकाले अन्य पालिकाको तुलनामा धेरै काम गरेको भन्दै उनले यसमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
संघ र प्रदेशको सहकार्यमा नगरमा केही ठूला आयोजना अघि बढेको र अरु योजनाहरु अगाडि बढ्ने क्रममा रहेको जयसवालको भनाइ थियो । दुई वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मारेको बताउँदै उनले नगरमा सञ्चालनमा रहेका र अब सञ्चालन हुने विकास निर्माणका कामबारे जानकारी गराएका थिए ।
१७ करोडको लागतमा नगरपालिका कार्यालयको आफ्नै प्रशासकीय भवन निर्माण कार्य शुरु भइसकेको बताउँदै नगर प्रमुख जयसवालले गाउँ–गाउँमा सडक, नाला निर्माणजस्ता भौतिक पूर्वाधार निर्माणका कामहरु द्रुत गतिमा अगाडि बढाइएको उल्लेख गरे ।
भौतिकसँगै रोजगारी सिर्जना,महिला विकास,शिक्षा,स्वास्थ्यजस्ता विषयमा नगरले उल्लेखनीय काम गरेको उनले बताए । सबैको साथ, सहयोग रहेमा आफ्नो कार्यकालभित्र गरुडा नगरलाई एक विकसित र समृद्ध नगर बनाउने उनले प्रतिबद्धता जनाए ।
चुनावी समय घोषणा पत्रमा उल्लेख रहेको प्राय सबै काम नभए पनि लगभग ८०% बढी काम आफ्नो अवधिमा सम्पन्न गर्ने बताए ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुस्ताक,नगरका सम्पुर्ण जनप्रतिनिधि,पालिकाका सम्पुर्ण शाखा प्रमुख कर्मचारी,आम सर्वसाधारण जनता,बुद्धिजीवी लगायत पत्रकारको समेत उपस्थिति रहेको थियो ।


