कलैया : कलैया उपमहानगरपालिका ११ पिप्राढी टोलका २३ वर्षीय संदीप कुमार यादवको दुर्घटनामा नभई हत्या भएको पीडित परिवारले दावी गरेको छ।
भदौ १३ गते सन्दिपको हत्या भएको संदीपका बुबा सुरेन्द्र प्रसाद यादवले सोमबार कलैया स्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो दावी गरेका हुन्।
कलैया उपमहानगरपालिका १३ बलिरामपुरका रामजन्मसाह तेली लगायतकाले छोराको हत्या गरेको आरोप उनको रहेको छ। तेलीले छोरा संदीप यादवलाई १३ गते काम गर्ने निहुँमा लगेको उनले जनाए।
छोरा र तेली सँगै काम गर्ने गरेको र उनीहरु पक्की घर बनाउने काम गर्दै आएको उनले बताए। उनीहरु काम गर्न गएको हो भनि आफुहरु ढुक्क रहेको उनले जनाए।
सन्दिप घर नर्फिकदा चिन्ता भएको पीडा पोख्दै उनले सुनाए। खोजीनिति गर्दा पनि अत्तोपत्तो नलागेको उनले जनाए। छोरा दुर्घटनामा परेको प्रहरीले खबर दिएको थियो ।
खबर पाउँनासाथ अस्पतालमा पुगेको र अस्पतालमा पुग्दा छोरा मरेको पाएको जनाए। सन्दिपका मामा रामबाबु यादवले भान्जाको आँखा छेडिएको,छातीको देब्रे भागमा दुई ठाउँमा प्वाल परेको पाइएको जनाए।
उसले लगाएको सर्ट र भित्री गन्जीमा कुनै किसिमको प्वाल देखिएन। त्यसपछि प्रहरीले खिचेको फोटो हेर्यौ त्यसमा पनि हेलमेट लगायतमा कुनै किसिमको स्क्रेच नरहेको उनले जनाए।
उनको दुवै हात तोडिएको पाइएको उनले बताए। यसरी तेली लगायतका व्यक्तिहरुले आफ्नो भाञ्जालाई ज्यान मारी फालेपनि प्रहरीले दुर्घटनामा मृत्यू भएको बताउँदै आएको छ।
न्यायको लागि पटक पटक जिल्ला प्रहरी कार्यालय बारामा जाँदा कुनै सुनुवाई नभएको कारण पत्रकार सम्मेलनको आयोजना गरी न्यायको लागि गुहार गरेको उनले बताए।
प्रहरीले समेत आफूलाई न्याय नदिएको कारण न्यायको लागि भौतारिनु परेको उनले बताए।
पत्रकार सम्मेलनमा सन्दिपकी आमा ललिता देवी, श्रीमति गणपति देवी लगायत सन्दिपका नातेदार,शुभेच्छुक एवम् स्थानीयवासिन्दाको उपस्थिति थियो। परिवारको दावीसंगै यो घटना रहस्यमय भएको छ।
यस्को नयाँ तवरले अनुसन्धान गर्न आवश्यक रहेको छ। बारा प्रहरीले सन्दिपको मृत्यु मोटरसाइकल दुर्घटनामा भएको जनाएको छ।
सन्दिपले चलाएको लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल मानवत मटिअर्वा सडकखण्डको कनपा १६ स्थित अलकत्रे सडकबाट १० फिट तल दुर्घटनाग्रस्त भएको प्रहरीको दावी रहेको छ।

