सूर्य नेपालद्वारा जीतपुरसिमरा उपमहानगरलाई दमकल हस्तान्तरण

साझेदारी डेलि
43 पाठक संख्या

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकालाई सूर्य नेपाल प्रालिले दमकल हस्तान्तरण गरेको छ। आगलागी नियन्त्रण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउँदै जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले उद्योगले उपमहानगरपालिकालाई वारुणयन्त्र (दमकल) उपलब्ध गराएको हो।

बुधबार आयोजित कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेश काजी श्रेष्ठले नगर प्रमुख राजन पौडेललाई दमकलको साँचो हस्तान्तरण गरेका हुन्।

दमकल हस्तान्तरण गर्दै व्यवस्थापक श्रेष्ठले आगलागीका घटनामा तत्काल दमकल परिचालन गरी जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। दमकल उपलब्ध गराउनुका साथै उद्योगले नगरपालिकाको स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

विशेषगरी जीतपुरसिमरा नगर अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराउने तथा शल्यक्रिया सेवाका लागि पूर्वाधार विकासमा सहकार्य भइरहेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार नगर अस्पतालका लागि सीआर मेसिन र एनेस्थेसिया टेबल उपलब्ध गराउने तयारी भइरहेको छ।

अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष निर्माणको आवश्यकतासमेत पहिचान गरी त्यसतर्फ काम अघि बढाइएको छ। आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापनबाट सर्वसाधारणले स्थानीय स्तरमै सहज स्वास्थ्य सेवा पाउने उद्योगको अपेक्षा छ।

सूर्य नेपालले यसअघि पनि जीतपुरसिमराको सामाजिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। उद्योगले २०७९ सालमा जीतपुरमा बर्थिङ सेन्टर निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो भने जीतपुरसिमरा नगर अस्पताललाई डायलसिस मेसिनसमेत उपलब्ध गराएको थियो।

त्यसैगरी, विभिन्न विद्यालयमा स्मार्ट तथा डिजिटल बोर्ड वितरण गर्नुका साथै इलाका प्रशासन कार्यालय सिमरालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको उद्योगले जनाएको छ।

दमकल बुझ्दै नगर प्रमुख पौडेलले उपमहानगरपालिकाको सेवा प्रवाह तथा पूर्वाधार विकासमा सूर्य नेपालले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे। नगर अस्पताललाई आवश्यक प्रविधि र उपकरणले सुसज्जित बनाउन उद्योगको योगदान महत्त्वपूर्ण रहेको उनले बताए।

कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सूर्य नेपालका प्रतिनिधिहरूको सहभागिता थियो।

Leave a review