बारामा हुलाकमार्फत घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड वितरण सुरु

साझेदारी डेलि
55 पाठक संख्या

बारा । जिल्ला हुलाक कार्यालय बाराले सेवाग्राहीको घरदैलोसम्म सेवा पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमको सिमकार्ड वितरण सुरु गरेको छ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको समझदारीअनुसार हुलाक कार्यालयमार्फत सिमकार्ड वितरण सुरु गरिएको हो।

यसैक्रममा बिहीबार बाराको सिम्रौनगढ नगरपालिका–१ निवासी नेहा कुमारी ठाकुरलाई हुलाक सेवामार्फत नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ।

जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार यस सहकार्यले सर्वसाधारणलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्नेछ। यस व्यवस्थाअन्तर्गत नागरिकले नेपाल टेलिकमका सिमकार्डका साथै राहदानी, शैक्षिक प्रमाणपत्र तथा अन्य महत्त्वपूर्ण कागजात र सामग्रीसमेत हुलाक सेवामार्फत घरमै मगाउन सक्नेछन्।

सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुरूप सुरु गरिएको यस सेवाले सेवाग्राहीको समय र यातायात खर्च बचत गर्ने विश्वास लिइएको छ। हुलाक सेवामार्फत सरकारी तथा सार्वजनिक सेवालाई थप नागरिकमैत्री, प्रभावकारी र सर्वसाधारणको पहुँचयोग्य बनाउन सहयोग पुग्ने जिल्ला हुलाक कार्यालय बाराले जनाएको छ।

Leave a review