गढीमाई मन्दिरको दान पेटिकाबाट सात लाख भेटी संकलन

साझेदारी दैनिक
466 पाठक संख्या

वीरगञ्ज : विश्व प्रसिद्ध गढीमाई मन्दिरमा राखिएको दानपेटिकाबाट सात लाख ३५ हजार २४१ रुपैयाको भेटी संकलन भएको छ ।

असोज १७ गते घटस्थापनाका दिनदेखि राखिएको दानपेटिकाबाट भक्तजनहरुले दान स्वरुप चढाएको भेटी सँकलन गरिएको हो।

घटस्थापनाका दिन राखिएको दानपेटिकालाई महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव,गढीमाई मन्दिर विकास समितिका अध्यक्ष रामचन्द्र साह लगायतको उपस्थितिमा खोलेर भेटी गणना गरिएको हो।

भक्तजनहरुले दान स्वरुप दानपेटिकामा नगद,सुनचाँदीका गहगहनाहरु समेत चढाएका छन्। दानपेटिकाबाट सुनको तिलहरी पाँच थान,चाँदीको आँखा दुई जोर,सुनको टिका एक थान,चाँदीको घण्टी तीन थान गरि कुल सात थान सुनको र छब्बीस थान चाँदीको गहना तथा नगद समेत गणना गरिएको पञ्चवर्षीय गढीमाई मेला मुल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए।

मन्दिरमा रसिद मार्फत दुई लाख ३१ हजार ७२ रुपैया समेत सँकलन भएको यादवले जानकारी दिए ।पशुबलिका लागि प्रसिद्ध रहेको महागढीमाई नगरपालिकाको बरियापुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच बर्षमा मेला लाग्दै आएको छ ।

यसपालि अगामी मँसिर १ गतेबाट एक महिनासम्म गढीमाई मन्दिरमा मेला लाग्दै छ। मेलाको लागि तयारी र ब्यावस्थापन समेत तिब्र गतिमा अघि बढाइएको मेला समितिले जनाएको छ ।

यसअघि मेलाको लागि असोज १७ गतेका दिन गढीमाई मन्दिरबाट बिशाल शोभायात्रा समेत निकालिएको थियो।

Leave a review