सिमरा । बाराको सिमरामा सम्पन्न सिमरा–डुमरवाना अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दुवै विधाको उपाधि फरक–फरक विद्यालयले जितेका छन्। छात्रतर्फ सिमरा पब्लिक इङ्लिस स्कुल र छात्रातर्फ पाथीभरा इङ्लिस बोर्डिङ स्कुलले फाइनलमा प्रतिस्पर्धीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्।
शनिबार सिमरास्थित सेज क्रिकेट मैदानमा भएको छात्रतर्फको फाइनलमा सिमरा पब्लिकले लोटस एकेडेमीलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको लोटसले १२.१ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाएको थियो। जवाफमा ७४ रनको लक्ष्य पाएको सिमरा पब्लिकले ५.५ ओभरमै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
सिमरा पब्लिकको जितमा आर्यान यादवले २० बलमा ३४ र कुन्दन यादवले चार बलमा २० रन बनाए। पाँच विकेट लिएका आशिषकुमार मण्डल प्लेयर अफ द म्याच घोषित भए।
छात्रातर्फको उपाधिका लागि भएको प्रतिस्पर्धामा पाथीभरा इङ्लिस बोर्डिङ स्कुलले अक्षरा पाठशालालाई १९ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको पाथीभराले निर्धारित १२ ओभरमा पाँच विकेट गुमाएर ९६ रन जोडेको थियो। ९७ रनको लक्ष्य पछ्याएको अक्षराले आठ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो। उक्त खेलमा पाथीभराकी एन्जल पराजुली प्लेयर अफ द म्याच घोषित भइन्।
प्रतियोगितामा छात्रतर्फ सिमरा पब्लिकका कुन्दन यादव र छात्रातर्फ पाथीभराकी एन्जल पराजुली प्लेयर अफ द सिरिज बने। सर्वाधिक विकेट लिनेमा छात्रतर्फ १३ विकेटसहित आशिष मण्डल र छात्रातर्फ १२ विकेटसहित अपेक्षा खड्का रहे। त्यसैगरी, सर्वाधिक रन बनाउने खेलाडीमा छात्रतर्फ १८२ रनसहित परवेज अन्सारी र छात्रातर्फ ९१ रनसहित आर्या विक घोषित भए।
प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका १२ निजी विद्यालय सहभागी थिए। सिमरा पब्लिक स्कुल र अक्षरा पाठशालाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत छात्रतर्फको खेल सिमरा पब्लिक र छात्रातर्फको खेल अक्षरा पाठशालाले व्यवस्थापन गरेका थिए।
समापन समारोहमा मधेस प्रदेश क्रिकेट संघका प्रमुख छनोटकर्ता विकास दलीलगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा सिमरा क्रिकेट क्लबका अध्यक्ष एवं प्रतियोगिताका प्राविधिक व्यवस्थापक पंकज शर्मा, विभिन्न विद्यालयका प्रधानाध्यापक, क्रिकेट प्रशिक्षक तथा पूर्वखेलाडीहरूको उपस्थिति थियो। समारोहको सहजीकरण शिक्षक शालिकराम अधिकारीले गरेका थिए।



