ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाद्वारा तीनदिने आध्यात्मिक कार्यक्रम मंसिर ४ गतेदेखि हुने

साझेदारी डेलि
220 पाठक संख्या

बारा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाको आयोजनामा ‘आध्यात्मिक सशक्तीकरणद्वारा आदर्श समाजको निर्माण’ गर्ने उद्देश्यले तीनदिने आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ।

आगामी मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रमबारे शनिबार बाराको कलैयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा कार्यक्रमको तालिकाबारे जानकारी दिँदै गुणराज कुमारले विद्यार्थी, शिक्षक, महिला, जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूका लागि छुट्टाछुट्टै पाँच सत्रमा दिव्य प्रवचन तथा प्रेरणादायी कार्यक्रम सञ्चालन गरिने बताए।

कार्यक्रमको पहिलो दिन मंसिर ४ गते शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म जिल्लाभरिका कक्षा १२ तथा क्याम्पसका विद्यार्थी भाइबहिनीहरूका लागि ‘लाइफ इज ब्यूटिफुल’ शीर्षकमा कार्यक्रम सञ्चालन हुनेछ। सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म शिक्षक–शिक्षिकाहरूका लागि ‘टिचर्स : लाइट हाउस अफ ह्युमानिटी’ शीर्षकमा कार्यक्रम आयोजना गरिनेछ।

त्यस्तै, मंसिर ५ गते शनिबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म महिला दिदीबहिनीहरूका लागि ‘समाज परिवर्तनको मूल आधार नारी’ शीर्षकमा कार्यक्रम सञ्चालन हुनेछ। सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूका लागि ‘सफल जीवनको आधार गीताको सार’ शीर्षकमा दिव्य प्रवचन समारोह आयोजना गरिनेछ।

कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते आइतबार बिहान ११ बजे सम्मान समारोह एवं स्नेह मिलन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम कलैयास्थित ओम शान्ति टोलमा हुने गुणराज कुमारले जानकारी दिए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता, विदुषी एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीको उपस्थिति रहनेछ। उहाँ ब्रह्माकुमारीज अन्तर्राष्ट्रिय मुख्यालय, आबु राज, राजस्थान, भारतबाट आउनुहुनेछ।

त्यसैगरी, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राज दादी माँ, काठमाडौंको विशेष आशीर्वचन रहनेछ।

कार्यक्रममा ब्रह्माकुमारीज नेपालकी सहनिर्देशक ब्रह्मचारिणी ब्रह्माकुमारी किरण दीदी, काठमाडौंका वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामसिंह एरे तथा ब्रह्माकुमारीज वीरगञ्ज सबजोनकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रबिना दिदीलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ।

पत्रकार सम्मेलनमा कलैया क्षेत्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी मीना दिदी, जनता समाजवादी पार्टी नेपालका नेता एवं बारा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादव, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रसौनीकी सञ्चालिका पूर्णिमा दिदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन सुस्मा बहनले गरेकी थिइन्।

Leave a review