सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरा औराहामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको प्रस्तावित ‘बाबाजी लक्ष्मी धाम’ मा आगामी मंसिर १० गतेदेखि १६ गतेसम्म आयोजना हुन गइरहेको श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सवको तयारी तीव्र पारिएको छ।
महोत्सवलाई व्यवस्थित, भव्य र सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले शनिबार मन्दिर परिसरमा श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागितामा तयारी भेला सम्पन्न भएको हो।
भेलामा महोत्सवको व्यवस्थापकीय तयारी, प्रचारप्रसार, स्वयंसेवक परिचालन, अतिथि सत्कार, आवास तथा भोजन व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो। महोत्सवमा देश तथा विदेशबाट आउने श्रद्धालु भक्तजनको सहभागितालाई मध्यनजर गर्दै आवश्यक तयारी र जिम्मेवारी बाँडफाँट गर्ने विषयमा समेत छलफल भएको छ।
सात दिनसम्म सञ्चालन हुने महोत्सवलाई धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वका साथ सम्पन्न गर्ने लक्ष्य आयोजकले लिएको छ। महोत्सवले श्रीकृष्ण प्रणामी धर्मको प्रचारप्रसारसँगै धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धार्मिक महोत्वस आयोजक मुल समारोह समितिका संयोजक जनार्दन शास्त्री महाराजजीको अध्यक्षतामा भएको उक्त तयारी भेलामा मन्दिर संरक्षक समेत रहनुभएकी विदुषी उषा घिमिरे, शास्त्री श्याम पौडेल, श्रीकृष्ण प्रणामी मन्दिर सिमराका अध्यक्ष मधुसुधन सिटौला, युवा परिषद मधेश प्रदेशका अध्यक्ष उद्धव तिमल्सिना, युवा परिषद बारा जिल्ला अध्यक्ष मोहन सापकोटा, मकवानपुर अध्यक्ष सुजन तिमल्सिना, युवा परिषद रौतहट जिल्ला अध्यक्ष विमल सापकोटा लगायतकाले भेलामा सम्बोधन गर्दै महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन तथा कार्यक्रममा सवै किसिमको सेवा र स्वयमसेवक परिचालनमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत भेलामा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी युवा परिषद केन्द्रीय सदस्य सुमन सुवेदीले संचालन गर्नुभएको थियो । कार्यक्रमा बारा, पर्सा,मकवानपुर तथा रौतहट जिल्ला अन्तरगत रहेका केन्द्रीय, जिल्ला, प्रदेश र प्रास समितिहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।



