प्रहरी निरीक्षक प्रकाश खड्का बाराको असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

साझेदारी डेलि
147 पाठक संख्या

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक प्रकाश खड्का असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले शुक्रबार उनलाई उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानपत्र प्रदान गरेका हुन्। उक्त अवसरमा बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेको समेत उपस्थिति रहेको थियो।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक खड्काले अपराध नियन्त्रण तथा अनुसन्धानमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

प्रहरी निरीक्षक खड्काले २०८३ साल असोज ३ गते साँझ करिब ५ः३० बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबल अगाडि भएको धारिलो हतियार प्रहार घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उक्त दिन जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय शेरबहादुर खड्का र सोही स्थानमा बस्ने ठुले राईका छोरा करिब २२ वर्षीय आयुष राईबीच झैझगडा हुँदा धारिलो हतियार प्रहार भएको थियो। हतियार प्रहारबाट शेरबहादुर खड्काको घाँटीमा चोट लागी उनी बोल्न नसक्ने गम्भीर अवस्थामा पुगेका थिए। उनलाई साँझ ६ः३० बजे उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो।

घटनामा धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार भएपछि प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा जितपुरसिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरस्थित धानबारीबाट २२ वर्षीय आयुष राईलाई नियन्त्रणमा लिन सफल भएको थियो।

अपराध अनुसन्धानका कार्यमा उत्कृष्ट भूमिका निर्वाह गर्नुका साथै आफूलाई सुम्पिएको जिम्मेवारी अत्यन्त इमान्दारीपूर्वक सम्पादन गरेको, प्रहरी नीति तथा निर्देशन पूर्ण रूपमा पालना गरेको र कार्यसम्पादनमा उत्कृष्टता देखाएको भन्दै उनलाई पुरस्कृत गरिएको छ।

उनले सम्पादन गरेको उत्कृष्ट कार्यको कदरस्वरूप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक प्रभाव पर्ने र कार्यदक्षता तथा कार्यसम्पादनमा अझ प्रभावकारिता आउने अपेक्षासहित उनलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

Leave a review