बारा : राजेश कुशवाहा/बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ मठवाटोल स्थित सडक खण्डमा आईतबार सडक दुर्घटना भएको छ।
दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घाईते हुनेमा बाराको करैयामाई गाउँपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीय विजय चौरसिया,बारागढ़ी गाउँपालिका वडा नम्बर १ पिपरा बसतपुर बस्ने २२ वर्षीय जयकिसन दास तत्मा र सोहि ठाउँ बस्ने १७ वर्षीय पारस ठाकुर बढई रहेका छन्।
दुर्घटनामा परी चौरसियाको दाहिने खुट्टाको बुढीऔला काटिएको छ। तत्माको दाहिने खुट्टामा र ठाकुरको कमर तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
गञ्जभवानीपुरबाट बरियारपुरतर्फ आउदै गरेको ना .५२ प.५९४९ नम्बरको डिस्कभर मोटरसाईकल र बरियारपुरबाट गञ्ज भवानीपुर तर्फ जादै गरेको प्रदेश नम्बर ०२–०३–०२३प ०१५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको हो।
चौरसिया प्रदेश नम्बर ०२–०३–०२३प ०१५३ नम्बरको मोटरसाईकलका चालक हुन भने दास र ठाकुर ना .५२ प.५९४९ नम्बरको डिस्कभर मोटरसाईकलमा सवार रहेका थिए। उनीहरुलाई उपचारको लागि कलैया लगिएको छ ।

