कलैया : समाचार लेखेकै भरमा पत्रकारलाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ बाराको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन्।
नेपाल पत्रकार महासंघ बाराका सदस्य एवं मिलन राष्ट्रिय दैनिक पत्रिका कार्यकारी सम्पादक नरेश गुप्तालाई सिम्रौनगढ नगरपालिकाका प्रसाशकिय अधिकृत हरिओम जैसवालले समाचार लेखेको विषयलाई लिएर देखाई दिन्छु भनी धम्कि दिएको विज्ञप्तिमा खतिवडाले जनाएका छन्।
पत्रकारलाई धाकधम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वात्रन्त्रताको ठाडो हस्तक्षेप हो उनले प्रेस विज्ञप्तिमा लेखेका छन्।
समाचारमा लेखिएका विषयमा चित्त नबुझे खण्डन गर्न वा सम्बन्धित निकायहरुमा उजूर गरी न्याय निरुपण गर्न सकिने अनेकन प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्काउने,दुरव्यवहार गर्ने कार्य निन्दनीय भएकाले यसको घोर भत्सर्ना समेत गर्दछौ प्रेस विज्ञप्तिमा लेखिएको छ।
नेपाल सरकारका जिम्मेवार निकायमा बसेका व्यक्तिबाटै समाचार लेखेकै कारण पत्रकारलाई धम्की दिने कार्यको कड़ा शब्दमा विरोध गर्दै पत्रकारको भौतिक एव व्यवसायीक शुरक्षामा ध्यान दिन सम्बद्ध सबैमा हार्दिक अपिल समेत विज्ञप्तिमा गरिएको छ।


