रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध भेदभावको मुद्दा दर्ता

साझेदारी डेलि
235 पाठक संख्या

कलैया । उच्च अदालत जनकपुरको इजलास वीरगञ्जबाट भएको परमादेश अनुसार,बारा क्षेत्र नं २ को रास्वपा सांसद चन्दन कुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको छ। गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा रास्वपा सांसद सिंहमाथि बाराको देवताल गाउँपालिका – ५ बस्ने ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीले सो मुद्दा दर्ता भएको हो।

सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मुद्दामा अनुसन्धान भइरहेको छ। मुद्दामा पक्राउ पुर्जी भने जारी भएको छैन। सांसद सिंहको घर देवतालको वडा नं ४ मा पर्छ।

देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत महतोले समाजमा भएका गलत गतिविधिलाई विरोध गरेकै कारणले दुर्व्यवहार भएको आरोप लगाइएको छ। २७ कात्तिक २०८१ मा सिंहले अरु व्यक्तिहरूबाट गनपतलाई सामाजिक बहिस्कार गर्ने निर्णय भएको जाहेरीमा दावी गरिएको छ । आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने, अपमानित गर्ने तथा गाउँघरमा आफ्नो चरित्र र व्यक्तित्वमा आँच आउने गरी प्रचार–प्रसार गर्ने काम भएको आरोप जाहेरीमा लगाइएको छ।

स्थानीय रामबाबुप्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम सांसद सिंहसंगै जाहेरीमा उल्लेख छ। विपक्षीहरूले गाउँमा विकाससम्बन्धी काम गर्न अवरोध गरेको र आफूले त्यस्ता अवरोधका बाबजुद विकाससम्बन्धी काम गराउन पहल गरेपछि समाजबाट बहिष्कार गर्ने निर्णय गरेको आरोप जाहेरीमा लगाइएको छ।

उनले जाहेरीमा गाउँघरमा हुने विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा आफू तथा आफ्नो परिवारका सदस्यलाई सहभागी हुन नदिने गरिएको आरोप जाहेरीमा रहेको छ। सार्वजनिक स्थान तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न लगाउने, आफूलाई अपमानजनक व्यवहार गर्ने र गाउँघरमा आफूविरुद्ध विभिन्न किसिमका कुरा प्रचार–प्रसार गर्ने गरिएको आरोप जाहेरीमा लगाइएको छ। जाहेरीमा घटनासँग सम्बन्धित प्रमाणका रूपमा विपक्षीहरूले गरेका निर्णयको फोटोकपीसमेत संलग्न रहेको छ।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट देवताल गाउँपालिकाका अध्यक्ष बनेका थिए र पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी गत २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

Leave a review