बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरस्थित ब्रह्मबाबा चौर नजिकको नहरमा ५६ वर्षीय हरिनारायण सहनी मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय सहनीलाई बुधबार बिहान करिब ६ बजे उनका छोरा राम विनय सहनीले नहरमा मृत अवस्थामा देखेका थिए। त्यसपछि उनले शव नहरबाट निकालेर डिलमा राखी प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश निरौलाको कमाण्डमा ५ जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा सोकोसहित पाँच जना टोलिसमेत खटिएको थियो।
बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। पोस्टमार्टमपछि मृतकका छोरा विनय सहनीले शव बुझिलिएको उनले जानकारी दिए। उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान कार्य भईरहेको छ ।



