बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।
स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।
घटनालगत्तै उद्धार गरी दुवै किशोरीलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।


