वीरगञ्ज : पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
प्रहरीले पकहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थित सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पदरूपमा एक जना अपरिचित व्यक्ति पैदल हिंडिरहेकोमा प्रहरी चौकी धोरे पर्साबाट खटिएको नियमित चेकिङ टोलीले उनलाई जाँच गरेको थियो।
प्रहरीले पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनी बस्ने वर्ष २२ को दिलिप कुमार सहनीलाई पक्राउ गरेको हो। उनले निलो रंगको झोलामा आलु, प्याजभित्र लुकाइ छिपाइ राखिएको नुफिन लेखिएको १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनारगन लेखिएको १५० एम्पुल गरी जम्मा ४५० (चारसय पचास) एम्पुल लागु औषध फेला परेको हो।
सहनीलाई लागु औषध सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइएको छ। उनी विरुद्ध लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


