बारा । बाराको फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १५ वर्षीय छोरा आदित्य पासवानलाई आइतबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल, महाराजगन्ज पठाइएको हो। घाइते किशोरसँगै उनका बुवा धर्मेन्द्र पासवान, ठूलो बुवा र दाइसमेत काठमाडौं गएका छन्।
शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवादले उग्र रूप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य घाइते भएका थिए।
घटनापछि उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा घाइते किशोरको शल्यक्रिया गरी गोली निकालिएको थियो। शल्यक्रियापछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।
अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका थिए। स्थानीयले अस्पतालमा आवश्यक पूर्वाधार, चिकित्सक, नर्स तथा बेडसहित सम्पूर्ण सेवा सुविधा उपलब्ध गराएर मात्र उद्घाटन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। घटनामा अस्पतालमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरिएको थियो। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।
यसैबीच, फेटामा भएको विवाद, प्रदर्शन तथा झडपको स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालको नेतृत्वमा गठन गरिएको टोलीमा प्रहरी उपरीक्षक भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। टोलीलाई घटनाको स्थलगत छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट मुक्त गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा पठाइएको एसपी कुँवरले बताए।


