बारा । नेपाली कांग्रेस बाराको १५ औँ जिल्ला अधिवेशनबाट शेरबहादुर देउवा समूहका राजेश राय यादव पुनः जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
आइतबार बाराको कलैया उपमहानगरपालिका–१ स्थित राजजानकी मन्दिरको प्राङ्गणमा सम्पन्न जिल्ला अधिवेशनबाट यादव पुनः सभापतिमा चयन भएका हुन् ।
जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरी रहेका थिए ।
अधिवेशनमा संविधानसभा सदस्य एवं पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सोधीलाल मण्डल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मुस्ताक अन्सारी, क्षेत्र नम्बर ३ की क्षेत्रीय सभापति कलावती पासवान र क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हरेन्द्रप्रसाद यादव,प्रदेशसभा क्षेत्र नम्बर २(क) का सभापति राजेश साह, २(ख) का सभापति हरिलाल राय यादव (बाबा), ३(क) का सभापति सुरेशप्रसाद साह, ३(ख) का सभापति हरि प्रवेश यादव, ४(क) का सभापति लेखनाथ खनाल र ४(ख) का सभापति गोपालप्रसाद कुशवाहा,कलैया उपमहानगरपालिकाका नगर सभापति दीपेन्द्र कुशवाहा, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी चौधरी, विभिन्न पालिकाका प्रतिनिधि, वडा सभापति तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
सभापतिमा राजेश राय यादव सर्वसम्मत चयन भएपछि अधिवेशनमा सहभागी वक्ताहरूले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन यादवको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका थिए । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जयनारायण यादवले गरेका थिए ।
यद्यपि नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई धार देखिएका छन् । विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा समूह र १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएका छन् ।
थापा समूहले वडा, नगर, क्षेत्रीय हुँदै केन्द्रीय महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ भने देउवा समूहले वडा, नगर र प्रदेश अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन गरिरहेको छ ।
यसैक्रममा बारामा पनि देउवा समूहले जिल्ला अधिवेशन सम्पन्न गरेको हो । यता, थापा समूहले भने बारामा जिल्ला अधिवेशनको घोषणा गरेको छैन ।


