पर्सा : दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिले गत आर्थिक वर्षभित्र नै मन्दिरको सिँढीमा रेलिङ तथा सौन्दर्यकरणको काम सम्पन्न गरे पनि भुक्तानी प्राप्त गर्न झन्झट व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
समितिले उपभोक्ता समितिमार्फत पर्टेवासुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको सिँढी तथा सौन्दर्यकरणका लागि रु ३९ लाख १० हजार १९ खर्च गरे पनि पर्यटन विकास कार्यालयबाट भुक्तानी प्राप्त गर्न नसक्दा सास्ती व्यहोर्नुपरेको बताएका छन् ।
दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले उपभोक्ता समितिमार्फत उधारोमा स्टिलका पाइप, सिमेन्टलगायत पूर्वाधारका सामग्री र काम गराएबापतको कामदारको ज्याला भुक्तानीमा समस्या भएको बताउनुभयो ।
‘‘हामीले गत असार २४ गतेभित्र योजनाअनुसार मन्दिरको सिँढीमा रेलिङ र सौन्दर्यकरणको काम सकाएर पर्यटन विकास कार्यालयमा सम्पूर्ण प्रक्रिया पूरा गरेर बिल पेस गरेका थियौँ”, उहाँले भन्नुभयो, “कार्यालयले भने विभिन्न प्राविधिक कारण देखाएर गत आवभित्रै भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगर्दा उपभोक्ता समितिमार्फत खरिद गरिएका निर्माण सामग्री र कामदारको ज्यालासमेत भुक्तानी गर्न सकिरहेका छैनौँ । जसले अहिले हामीलाई निकै सास्ती भइरहेको छ ।”
पर्यटन विकास कार्यालय पर्साले समितिलाई गत जेठ २५ गते पत्र काटेर निर्माणका लागि कार्यादेश दिएको उल्लेख छ । तर समितिले भने आफूहरूलाई कार्यालयले ढिलागरी कार्यादेश दिएको दाबी गरेका छन् । पर्यटन विकास कार्यालयका प्रमुख बविता जैसवालले समितिले निर्माण सम्पन्न गरे पनि प्राविधिक रूपमा सर्भरमा देखिएको समस्याका कारण भुक्तानी गर्न नसकेको बताउनुभयो ।
कार्यालय प्रमुख जैसवालले मन्दिरको सिँढीमा रेलिङ र सौन्दर्यकरणको योजनाको मात्र नभएर अन्य तीन योजनाको पनि भुक्तानी हुन नसकेको बताउनुभयो । “समितिका पदाधिकारीले प्राविधिक त्रुटिलाई अनाश्वयक रूपमा व्यक्तिगत रूपमा नै लक्षित गर्दै प्रचार गर्दै आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “हामीले अन्तिम समयमा पनि धार्मिकस्थलको संरचना निर्माणका लागि बजेट फ्रिज हुनुभन्दा निर्माण गर्नका लागि अग्रसर भएका थियौँ ।”
कार्यालयका अनुसार गत आवमा निर्माण सम्पन्न भएको बारामा अवस्थित अधुरो जनयुद्ध स्मृति उद्यानको पनि रु ४० लाख ३९ हजार १६१ भुक्तानी हुनसकेको छैन । त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–४ स्थित अधुरो मदर्सालगायत संरचनाको निर्माण सम्पन्न भए पनि रु १४ लाख ५२ हजार ६५४ भुक्तानी गर्न बाँकी छ ।
कार्यालय प्रमुख जैसवालले गत साउन ११ गते मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा पत्राचार गरेर आव २०८१÷८२ को स्वीकृत योजना तथा कार्यक्रममध्ये तीनवटा योजनाको कार्य सम्पन्न भई प्राविधिक त्रुटिका कारण भुक्तानी हुन बाँकी रहेकाले यो योजनाको कच्चाबारी पठाइएको बताउनुभयो । “सो योजनाको भुक्तानीका लागि १८ नम्बरको फारम भरेर मधेस प्रदेश अर्थ मन्त्रालयमा पेस भइसकेको छ”, उहाँले भन्नुभयो, “केही समयभित्रै उहाँहरूले निर्माण सम्पन्न गरेको कामको भुक्तानी प्राप्त गर्नुहुनेछ ।”

