अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता : उपाधिको लागि अक्षरा पाठशाला र एसपीईएस भिड्ने

रञ्जन यादव
295 पाठक संख्या

जीतपुर : प्रथम अक्षरा अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधिको लागि अक्षरा पाठशाला र सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस) आज ( शनिबार ) भिड्ने भएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित सेज क्रिकेट मैदानमा शुक्रबार सम्पन्न सेमिफाईनल खेलमा प्रभावशाली प्रदर्शन गर्दै दुवै टोलीले फाइनलको यात्रा सुनिश्चित गरेका हुन्।

पहिलो सेमिफाइनलमा आयोजक अक्षराले एक्स–सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई कडा प्रतिस्पर्धा बीच ६ रनले पराजित गर्न सफल भयो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको अक्षराले १० ओभरमा दुई विकेट मात्र गुमाउँदै ७२ रनको सम्मानजनक योगफल बनायो।

टोलीका लागि आर्या विक उत्कृष्ट फर्ममा देखिइन् र अविजित ३२ रनको योगदान दिईन्। एक्स–सर्भिसम्यानतर्फ रितिका श्रेष्ठ र अनुष्का ढकालले एक–एक विकेट हात पारे। ७३ रनको लक्ष्य पछ्याउन आएको एक्स–सर्भिसम्यानले राम्रो सुरुवात गरे पनि आवश्यक गतिमा स्कोर बढाउन नसक्दा ३ विकेटको क्षतिमा ६६ रनमै सीमित रह्यो। अनु वाइवाको १८ रन र रितिका श्रेष्ठको १६ रनले हार टार्न सकेन। अक्षराकी प्रिन्सा पौडेलले २ विकेट लिँदै बलिङतर्फ प्रभाव जमाइन्। उत्कृष्ट प्रदर्शनका आधारमा आर्या विक ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

यसैगरी शुक्रवार नै भएको अर्को दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको एसपीईएसले १० ओभरमा पाँच विकेट गुमाउँदै ७४ रनको लक्ष्य प्रस्तुत गर्यो। विनिशा लामिछाने २९ रनसहित टिमकी टप–स्कोरर बनिन् भने अनुष्का कार्कीले १५ रन जोडे। पाथीभराका लागि मनुजा खड्काले २ तथा एन्जल पराजुलीले १ विकेट लिए। प्रतियोगिताको उपाधि आज हुने रोमाञ्चक फाइनल भिडन्तबाट टुंगिनेछ, जहाँ आयोजक अक्षरा पाठशाला र एसपीईएस उपाधिका लागि आमनेसामने हुने आयोजक विद्यालयले जनएको छ ।

Leave a review

This will close in 0 seconds