महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि पालिका स्तरीय नीतिगत पहल सम्बन्धी पत्रकारहरुसंग जानकारी कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
220 पाठक संख्या

कलैया :फ्रेन्ड्स विदआउट बोर्डर्स/एफडब्लुएलडीको आयोजनामा बाराको कलैयास्थित बरेवा दरबारमा एक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि पालिकास्तरीय नीतिगत पहल सम्बन्धी पत्रकारहरूसँग जानकारी कार्यक्रम सम्पन्न भएको हो।

पालिकास्तरमा बनेका कानुन, तिनको कार्यान्वयन अवस्था तथा हिंसा न्यूनीकरणका चुनौतीबारे सो कार्यक्रममा छलफल गरिएको थियो। महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय तहमा बनेका नीति तथा कानुन कार्यान्वयनमा विभिन्न चुनौतीहरू रहेको जानकारी दिएका थिए। एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता समीर श्रेष्ठले संविधानले महिला तथा बालबालिकालाई दिएको संरक्षणबारे स्पष्ट पारेका थिए।

उनले बालविवाह अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको जानकारी दिएका थिए। उनले कलैया उपमहानगरपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका सहित पाँच वटा पालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन भइसकेको जानकारी उक्त अवसरमा दिएका थिए।

कलैया उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तपसीप्रसाद चौरसियाले कलैया उपमहानगरपालिकाले महिला तथा बालबालिका हिंसा सिफारिस प्रणाली–२०८२ नगरसभाबाट पारित भइसकेको जानकारी दिएका थिए। उक्त प्रणाली कार्यान्वयनका लागि उपमहानगरपालिकाले काम गरिरहेको जानकारी दिएका थिए।

देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णन्दनराय यादवले न्यु फ्रेन्ड क्लबको सहकार्यमा ऐन निर्माण गरिएको बताए। गाउँपालिकाको अध्यक्षको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरिएको जनाए। करैयामाई गाउँपालिकाले पनि महिला तथा बालबालिका हिंसा सिफारिस प्रणाली कार्यान्वयनमा ल्याइसकेको सो अवसरमा जानकारी दिइएको हो।

Leave a review