रास्वपाको प्रभाव बढ्दा बारामा ९९ उम्मेदवारको जमानत जफत

साझेदारी डेलि
587 पाठक संख्या
1

कलैया । बारामा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारहरूको धरौटी जफत भएको छ। जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कुल ११० जना उम्मेदवारमध्ये ९९ जनाले आफ्नो जमानत जोगाउन सकेनन्।

निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ती उम्मेदवारहरूको जमानत जफत भएको हो। यसरी जमानत गुमाउनेहरूमा स्वतन्त्र उम्मेदवार मात्र नभई एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी र आम जनता पार्टीजस्ता स्थापित तथा ठूला दलका उम्मेदवारहरू समेत रहेका छन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारतर्फ मतदाताको आकर्षण बढेपछि अन्य पुराना तथा मधेस केन्द्रित दलहरूको चुनावी आधार खुम्चिएको विश्लेषण गरिएको छ।

बारा–१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफत भएको छ। जफत हुनेमा नेपाल कम्युनिष्ट पार्टीका सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद साह (कलाकार), उज्यालो पार्टी नेपालका अनवर अंसारी, जनमत पार्टीका मकरुल्लाह अंसारी, श्रम संस्कृति पार्टीका भुलावन कुमार पासवान र आम जनता पार्टीका विजय यादव लगायत अन्य ९ जना रहेका छन्।

बारा–२ मा २९ उम्मेदवारमध्ये २६ जनाले आफ्नो धरौटी जोगाउन सकेनन्। जफत हुनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का बलवीर प्रसाद चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार तथा संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहा, नेपाल कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव, जनमत पार्टीका राजेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु प्रसाद साह तेली, उज्यालो पार्टी नेपालका मेघराज पासवान, जन अधिकार पार्टीका अमरेश कुमार पाण्डे, स्वतन्त्र उम्मेदवार इन्जाद अंसारीसहित १८ जना रहेका छन्।

त्यसैगरी क्षेत्र नम्बर ३ का २४ उम्मेदवारमध्ये २२ जनाले धरौटी जोगाउन सकेनन्। जफत हुनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का उम्मेदवार तथा पूर्व मन्त्री ज्वाला कुमारी साह, जनमत पार्टीका उम्मेदवार तथा संविधानसभा सदस्य प्रमोद गुप्ता, जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार तथा पूर्व सांसद रामबाबु कुमार यादव, नेपाल कम्युनिष्ट पार्टीका भरत प्रसाद साह, उज्यालो पार्टी नेपालका तिर्थबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउतसहित १६ जना रहेका छन्।

बारा–४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। जफत हुनेमा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका अजय कुशवाहा, राष्ट्र निर्माण दल नेपालका उम्मेदवार तथा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अंसारी, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित ३० जना रहेका छन्।

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९९८, क्षेत्र नम्बर-२ मा चन्दन कुमार सिंहले ३५ हजार ५९०, क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६९७ र क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मत प्राप्त गरि निर्वाचित भएका छन्।

Leave a review